फोहोर व्यवस्थापनमा मुलुककै अब्बल हेटौंडा, फेरी पनि पुरस्कृत

अखबार हब
२०७८ भाद्र २६, शनिबार ११:०७

मकवानपुर । वागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिका फोहोर व्यवस्थापनमा अन्य सहरहरुभन्दा अगाडि रहेको छ । उपमहानगरपालिकाले करिब १६ वर्षअघिदेखि निजी क्षेत्रसँगको सहकार्यमा घरघरबाट फोहोर संकलन गर्ने र व्यवस्थापन गर्ने काम गर्दै आइरहेको छ । घरबाट फोहोर संकलन गर्ने मात्रै होइन, मुख्य बजार क्षेत्रमा हुने फोहोर बढारेर संकलन गर्ने र व्यवस्थापन गर्न दैनिक छुट्टै स्थायी कर्मचारीसमेत परिचालन गरिरहेको छ ।

फोहोर व्यवस्थापनमा वैज्ञानिक प्रयोग गरेको ठहर गर्दै हेटौंडा उपमहानगरलाई सन् २०१४ र सन् २०१७ मा मुलुककै सफा सहरको रुपमा घोषित गर्दै नेपाल सरकारले पुरस्कृतसमेत गरिसकेको छ । करिब २ लाख जनसंख्या रहेको हेटौंडा उमपहानगरपालिकाको १९ वटै वडाको मुख्य बस्ती भएको क्षेत्रमा घरघरमा पुगी फोहोर संकलन गर्ने गरिएको छ । फोहोर संकलन तथा व्यवस्थापनको काम ग्रिन एण्ड क्लिन सिटी प्रालिले गर्दै आइरहेको छ ।

२०६२ सालदेखि उपमहानगरपालिकाले सोही कम्पनीसँग साझेदारी गरी फोहोर संकलन र व्यवस्थापनको काम गरिरहेको छ । फोहोर व्यवस्थापनको लागि हेटौंडाको राप्ती खोला किनारको सार्वजनिक जग्गा प्रयोग गर्दै आइएको छ । फोहोर संकलन, सार्वजनिक स्थानमा व्यवस्थापन, नगरबासीसँग शुल्क संकलन साथै फोहोरको पुर्नप्रयोगको जिम्मा ग्रिन एण्ड क्लिन सिटी प्रालिलाई नै दिइएको उपमहानगरपालिकाकी वातावरण इन्जिनियर चन्दा खड्काले जानकारी दिइन् ।

मुख्य बजार क्षेत्रको फोहोर बढारेर संकलन गर्ने, फूल बिरुवा रोप्ने पानी हाल्नेलगायतका कामका लागि स्थायी र ज्यालादारी गरी दैनिक २७ जना कर्मचारी उपमहानगरपालिकाले खटाउने गरेको छ । यसबाहेक फोहोर व्यवस्थापनको अन्य काम कम्पनीले नै जिम्मा लिएर गरिरहेको इन्जिनियर खड्काले बताइन् ।

आफूहरुले दैनिक ४३ जना कर्मचारी खटाएर उपमहानगरको १९ वटै वडाको फोहोर संकलन तथा व्यवस्थापनको काम गरिरहेको ग्रिन एण्ड क्लिन सिटी प्रालिका सञ्चालक नवराज खतिवडाले जानकारी दिए । कुहिने र नकुहिने गरी हेटौंडाबाट दैनिक २५ टन फोहोर संकलन तथा व्यवस्थापन गर्ने गरिएको खतिवडाले बताए । संकलित फोहोरमध्ये करिब ५० प्रतिशत कुहिने तथा नकुहिने फोहोर पुनर्प्रयोगको लागि प्रशोधनमा पठाउने गरिएको उनको भनाइ छ । उपमहानगरको लगानीमा राप्ती बगर किनारमा कुहिने र नकुहिने फोहोर छुट्याउने मेसिन राखिएको छ ।

हेटौंडा उपमहानगरको मुख्य बजार क्षेत्र १, २, ४, ५ र १० नम्बर वडा क्षेत्रमा हप्तामा ४ दिन घरघरमै पुगेर फोहोर संकलन गर्ने गरिएको छ । त्यसमध्ये दुइदिन नकुहिने फोहोर र दुइदिन कुहिने फोहोर संकलन गर्ने गरिएको छ । मुख्य ५ वटा वडाहरुमा फोहोर संकलन तथा व्यवस्थापनबापत प्रति घर एक सय ५० रुपैयाँका दरले कम्पनीले नै शुल्क उठाउने गरेको छ । मुख्य बजार क्षेत्रमा करिब १० हजार घरधुरी रहेका छन् भने अन्य क्षेत्रमा १५ हजार घरधुरीबाट फोहोर र शुल्क संकलन गर्ने गरिएको ग्रिन एण्ड क्लिन सिटी प्रालिका सञ्चालक खतिवडाले बताए ।

मुख्य बजार क्षेत्रबाहेकका क्षेत्रमा फोहोर संकलन गरेबापत प्रतिघर मासिक ७५ रुपैयाँ शुल्क उठाउने गरिएको छ । यसबाहेक मेडिकलजन्य फोहोर संकलनको जिम्मा भने औषधि व्यवसायी संघले लिएको छ । मुख्य बजार क्षेत्र सरसफाईको लागि कर्मचारी खटाइएको बाहेक सरसफाईको अन्य कामको लागि उपमहानगरले कुनै पनि रकम खर्च गर्ने गरेको छैन ।

दीर्घकालीन ल्याण्डफिल साइडको समस्या
हेटौंडा उपमहानगरपालिकाले हाल फोहोर व्यवस्थापन गरिरहेको राप्ती बगरको क्षेत्र वातावरणीय दृष्ट्रिकोणले उपयुक्त नभएको भन्दै ल्याडफिल साइडको खोजी गरिएको पनि लामो समय भसकेको छ । तर, ल्याडफिल साइटको लागि प्रयाप्त र उपयुक्त जग्गा पाउन सकिएको छैन । खोला किनार क्षेत्रमा फोहोर व्यवस्थापन गर्दा वातावरणीय प्रभावको मूल्यांकन गरिएको छैन । अन्य विकल्प नभएपछि उपमहानगरपालिकाले राप्ती किनारमै व्यवस्थित रुपमा फोहोर बिसर्जन गर्ने गरेको छ ।

कुहिने तथा नकुहिने फोहोरलाई पुनर्पप्रयोगको काम हुन थालेपछि समस्या बढ्न नपाएको हेटौंडा उपमहानगरपालिकामा वातावरण महाशाखा प्रमुख भएर लामो समय काम गरेका बिके महर्जनको भनाइ छ । ‘कुहिने फोहारलाई कम्पोष्ट मल बनाउने र नकुहिने फोहार पनि छानेर अन्य सामाग्री बनाउने उद्योगमा पठाउने काम मेरै अवधारणाअनुसार भएको हो । फोहोरको पुनप्रर्योगमा जोड दिन सकियो भने ल्याडफिल साइडलाई दबाब कम हुन्छ ।’ महर्जनले भने ।

हेटौंडाको मुख्य बजार क्षेत्रमा कुहिने र नकुहिने फोहोर हरियो र निलो बाल्टीमा हाल्न घरवालालाई सचेत गराई आफ्नो नेतृत्वमा प्रभावकारी कार्यान्वयन गरिएको स्मरण गर्दै महर्जनले पछिल्ला समय भने फोहोरको वर्गीकरणमा जोड नदिइएको बताए । ‘रङमा आधारित स्रोत वर्गीकरण, बारमा आधारित संकलन’ भन्ने नारा नै दिएर फोहोर संकलन र व्यवस्थापन गर्ने गरिएको थियो । अहिले सबै प्रकारका फोहोर एकै ठाउँमा हाल्ने गरिएको पाइन्छ । यसो गर्दा फोहोरको पुनप्रर्योग घट्न गई ल्याण्डफिल साइटमा दबाब बढी हुन्छ ।’ महर्जनले भने ।

फोहोर संकलनको लागि निजी सेवा प्रदायकलाई जिम्मेवारी दिँदैमा उपमहानगरपालिका ढुक्कले बस्नु नहुने उनको सुझाव छ । सेवाको गुणस्तर, फोहोरको व्यवस्थित व्यवस्थापन, शुल्क निर्धारणलगायतको बारेमा उपमहानगरले ध्यान दिनुपर्ने महर्जनको भनाइ छ । प्रदेश सञ्चारबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published.


*