बेइजिङको अहिलेसम्मकै ठूलो घुसपैठ, चीनका दर्जनौँ विमान ताइबानको प्रतिरक्षा क्षेत्रभित्र !

अखबार हब
२०७८ आश्विन १६, शनिबार १३:४६

एजेन्सी । ताइबानले चीनका दर्जनौँ विमान आफ्नो हवाई प्रतिरक्षा क्षेत्रभित्र प्रवेश गरेको आरोप लगाएको छ । शुक्रबार एकै दिन भएको घटनालाई बेइजिङको अहिलेसम्मकै ठूलो घुसपैठ भनिएको छ ।

बिबिसीका अनुसार परमाणु बम खसाल्ने क्षमतासहितका चिनियाँ विमानहरू ताइबानको एअर डिफेन्स आइडेन्टीफिकेसन जोन हवाइ प्रतिरक्षा पहिचान क्षेत्रभित्र छिरेको ताइबानको रक्षा मन्त्रालयले जनाएको छ । ती विमानहरु शुक्रबार दुई चरणमा गरी प्रवेश गरेको उक्त मन्त्रालयको भनाइ छ ।

ताइवानको रक्षा मन्त्रालयले एक वक्तव्य जारी गर्दै चिनियाँ पिपुल्स लिवरेसन आर्मीका २५ विमान आफ्नो दक्षिण—पश्चिमी हवाई प्रतिरक्षा पहिचान प्रणालीभित्र पर्ने प्रतास टापुमाथि दिउँसै प्रवेश गरेको जनाएको छ । साथै शुक्रबार साँझ ३१ वटा थप विमानहरू त्यही क्षेत्रमा प्रवेश गरेको र ती ताइवान तथा फिलिपिन्सको समुद्रमाथि उडेको बताइएको छ ।

शुक्रबार उडेकामध्ये ४ वटा परमाणु हतियार बोक्ने क्षमताका एच–६ बमवारि गर्ने विमानहरू थिए भने १ विमान चाहिँ पनडुब्बीमाथि आक्रमण गर्ने क्षमता राख्ने खालको थियो ।

चिनियाँ विमानहरु एकपछि अर्को घुस्दै गएपछि लगत्तै ताइवानले आफ्ना लडाकु विमानहरूको समेत परिचालन गरेको थियो । साथै उसले आफ्नो क्षेप्यास्त्र प्रणाली समेत तैनाथ गरेर प्रतिक्रिया जनाएको बताइउको छ ।

चीनले ताइवानलाई आफ्नो एक प्रान्तको रूपमा हेर्ने गरेको छ । तर ताइवानले भने आफूलाई छुट्टै सार्वभौम देश ठान्दै आएको छ । यस कुरामा चीन र ताइबानबीच विवाद कायम छ ।

ताइवानले विगत एक वर्ष यता चिनियाँ वायु सेनाले आफ्नो टापु नजिकै यस्ता मिसनहरू सञ्चालन गरिरहेको बताउँदै आएको छ।

शनिबार ताइवानका प्रधानमन्त्री सु जिन चाङले पत्रकारहरुसँग भने, ‘चीन क्षेत्रीय शान्ति बिथोल्न नियोजित रूपमा सैन्य आक्रमणमा संलग्न छ ।’

तर यसबारे चीन सरकारले भने अहिलेसम्म कुनै पनि सार्वजनिक टिप्पणी गरेको छैन । विगतमा भने चीनले यस्ता उडानहरू आफ्नो सार्वभौमसत्ता रक्षा गर्न तथा ताइवान र अमेरिकाबीचको साँठगाँठविरुद्ध लक्षित रहेको बताउने गरेको थियो ।

यसअघि गत महिना (अगस्ट)मा मात्रै चीनले १९ वटा र जुन महिनामा १८ वटा विमानहरू ताइवानको प्रतिरक्षा प्रणाली क्षेत्रमा पठाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*