पासपोर्ट फालेर बट्टाई पालनमा व्यस्त युवा
भरतपुर–१३ ब्रहमपुरीका इश्वर सुवेदी बट्टाई पालनमा व्यस्त छन् । २६ वर्षीय इश्वरले करिब १० लाख लगानी गरेर बट्टाई चरा, लोकल र फाइटर कुखुरा पालेका छन् । उनी कोभिड–१९ को पहिलो चरणपछि व्यवसायतर्फ मोडिएका हुन् । गत वर्ष बट्टाई र अण्डा बेचेर करिब आठ लाख कमाए । लोकल कुखुरामात्रै बेचेर करिब डेढ लाख कमाए । “लकडाउनको फुर्सदले व्यावसायिक बन्न उत्प्रेरित ग¥यो,” इश्वर भन्छन्, “बिहान, बेलुका खोरमै व्यस्त बन्छु, दिनभर प्राविधिक काममा रमाउँछु ।”
सानैदेखि पढाइमा अब्बल इश्वरले कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी (सीएसआईटी) अध्ययन पूरा गरेका छन् । न्यूरो भिजन टेक्नोलोजीमार्फत सफ्टवेयर, वेभ डिजाइन, डिजिटल मार्केटिङको काम पनि गर्छन् । उनी फोटोग्राफर पनि हुन् । प्राविधिक ज्ञानलाई व्यवहारमा उतार्न सक्रिय इश्वर घरपालुवा चरापालनमा लागेका हुन् । उनले घरमै जोडेर खोर बनाएका छन् । चार सय बट्टाई चरा, पाँच सय लोकल कुखुरा, ५० वटा फाइटर कुखुरा पालेका छन् ।
“पाँच हजारसम्म बट्टाई चरा पाल्ने लक्ष्य छ,” उनी भन्छन्, “मासु र अण्डाका लागि बट्टाईको माग बढ्दो छ ।”
बट्टाई चराको तौल २५० ग्रामसम्म हुन्छ । ४५ दिनमा हुर्किन्छ । प्रतिगोटा १५० रुपैयाँमा बेच्छन् । फर्मबाट बट्टाई अण्डा प्रतिक्रेट १५० रुपैयाँमा बिक्री हुन्छ । उनले युट्युब हेरेर खोरमा अटोमेटिक ड्रिङकर र अटोमेटिक एग कलेक्सन प्रणाली जोडेका छन् । कुखुराको भन्दा चार गुणा बढी पौष्टिक तत्व बट्टाईको अण्डामा पाइने बताए ।
वाथ, दम, युरिक एसिडलगायतका बिरामीलाई बट्टाईको मासु फलदायी मानिने उनले बताए । “जाडोयाममा बट्टाईको मासु खपत बढ्छ,” उनले भने, “पौष्टिक तत्व बढी भएकाले बजारीकरणमा समस्या छैन ।” एक महिनामा अण्डा दिन सुरु गर्ने बट्टाईबाट करिब १ वर्षसम्म अण्डा उत्पादन लिन सकिन्छ । सुवेदी फर्मबाट इश्वरले छिमेकी जिल्लामा समेत बट्टाईका चल्ला बेच्छन् । अष्ट्रेलिया जान भाषा अध्ययन गरेर बसेका इश्वर आजभोलि आफ्नै फर्ममा व्यस्त छन् । उनलाई आमा, बुबा, भाइले सघाउँछन् । पासपोर्ट त्यागेरै बसेका उनी बट्टाईपालनबाट मनग्य आम्दानी गर्न सफल बनेका छन् । कारोबार दैनिकबाट