सस्तो मूल्यमा खसीबोका बेच्दै खाद्य, सुरु भयो किनबेच
काठमाडौँ । दसैंका लागि खसी बोकाको मूल्य एक किलोको ६४० रुपैयाँ तोकिएको छ ।
दसैं–तिहार जस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सो मूल्य तोकेको हो ।
कम्पनीले थापाथलीमा रहेको आफ्नै कार्यालय परिसरमा प्रतिकिलो ६५० रुपैयाँ मूल्यमा बिक्री गर्ने तय गरेको खसी, बोकाको मूल्य दसैंका लागि प्रतिकिलो १० रुपैयाँ छुट दिएर ६४० रुपैयाँमा बिक्री वितरण गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकहरुलाई आग्रह गरे । उनले खसी, बोकाको अभाव हुन नदिने प्रतिबद्धता समेत जनाए ।
कम्पनीले हाल २ हजार खसी, बोका बिक्रीका लागि ल्याएको छ । तर ग्राहकहरुको चाप बढेकाले आवश्यकता अनुसार थप गरेर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिए ।
उनले दैनिक ५ सय वटा खसी, बोका बिक्री वितरण हुने अनुमान गरिएको समेत बताए ।
कम्पनीले बिहान ७ बजेबाट बेलुका ५ बजेसम्म खसी, बोका बिक्री वितरणको व्यवस्था मिलाएको छ ।
कम्पनीले यस वर्ष कोरोनाका कारण चीनबाट च्याङ्ग्रा भने भित्र्याउन नसकिएको स्पष्ट पारेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले ग्राहकहरुले उत्साही ढंगले खसी, बोका खरिद गरिरहेको बताए ।