साताको अन्तिम दिन ४३.२९ अंकले बढ्यो नेप्से
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उत्साह थपिएको छ। यस दिन पुँजीबजार मापक परिसूचक (नेप्से) ४३.२९ ले बढेर २६९२.४७ विन्दुमा उक्लिएको छ। साताको चौथो कारोबार दिन बुधबार नेप्से ३०.७५ अंकले घटेर २६४९.२० विन्दुमा ओर्लिएको थियो।
आज समग्रमा नेप्से १.६३ प्रतिशतले बढेको छ। यसैगरी आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ९.१६ अंकले बढेर ५०६.१६ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कारोबार रकम भने घटेको छ। आज कूल तीन अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बुधबार कूल चार अर्ब ६२ करोड १५ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। आज कारोबारमा आएका कूल २३८ वटा कम्पनीका ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर ४८ हजार १६१ पटक किनबेच भएका छन्।
आज कारोबारमा आएका १३ समूहमा दुई समूहको सेयर मूल्य घटेको छ भने बाँकी समूहको सेयर मूल्य उकालो लागेको छ। आज सबैभन्दा धेरै होटल तथा पर्यटन क्षेत्रको सेयर मूल्य उकालो लागेको छ। यस समूहको सेयर मूल्य आज ३.४८ प्रतिशतले बढेको नेप्सेले जानकारी दिएको छ।
आज सबैभन्दा धेरै ट्रेडिङ समूहको सेयर मूल्य घटेको छ। यस समूहको सेयर मूल्य आज ०.६८ प्रतिशत घटेको हो। आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। एक को सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल फाइनान्स र ताप्लेजुङ पावर कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको हो।