मकवानपुरगढीमा रैथानेबाली प्रवद्र्धन कार्यक्रम

अखबार हब
२०७८ पुष २२, बिहीबार १७:३४

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउन रैथाने बाली प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । पछिल्लो समय गाउँपालिकाका विभिन्न स्थान आन्तरिक पर्यटकको गन्तव्य बनेसँगै पर्यटनलाई कृिषसँग जोड्दै कार्यक्रम ल्याइएको जनाइएको छ । गाउँ– पालिकाको कार्यालयले पालिकाभित्र सञ्चालित होटल, घरवास (होमस्टे), रेष्टुरेन्ट तथा खाजाघरका सञ्चालकलाई कोदो र फापरको परिकार बनाउनको लागि तालिम दिन सुरु गरेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रम अनुसार कृषि विकास कार्यक्रम सङ्घीय सशर्ततर्फ ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’ कार्यान्वयनमा ल्याएको हो । प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले गाउँलाई दूध, तरकारी तथा अन्नबालीमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याइएको जानकारी दिए । उनका अनुसार यसअघि गाउँपालिकाले गाउँपालिकामा रहेको सहकारीमार्फत किसानको कृषि उपज–तरकारी तथा फलफूल संकलन र बजारीकरणको सुरुआत गरेकोे छ ।

यसको साथै गाउँपालिकाले किसान क्रेडिट कार्डलगायतका विभिन्न नमूना कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । सहकारीमार्फत अनाज खरिदबिक्रीको कार्य गत आर्थिक वर्ष २०७७/७८ बाटै सुरुवात गरिएकोमा चालु आबमा तरकारी तथा फलफूलमासमेत बजारीकरणमा प्रोत्साहन अनुदानको कार्यक्रम सुरु गरिएको कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । यस कार्यक्रमले स्थानीय किसानलाई खेती गर्न हौसला मिलेको उनको भनाइ छ ।

गाउँपालिकाभरिमा यसवर्ष अनाज, तरकारी तथा फलफूल बजारीकरणका लागि सात वटा सहकारी संस्था सूचीकृत भएकोमा कुर्ले कृषि सहकारी संस्थाले संकलन र बजारी करणको काम थालिसकेका छन् । रैथानेबाली प्रवद्र्धन कार्यक्रम अन्तर्गतको तालिममा सहभागिताका लागि गाउँपालिकाले किसानलाई आग्रह समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*