माघे संक्रान्तिको महत्व
भौगोलिक, जातीय र सांंस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने पर्व र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न समुदाय र भेगमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन छ । यसको उदाहरणका रूपमा माघे संक्रान्ति पर्वलाई लिन सकिन्छ । यो पर्व माघ महिनाको पहिलो दिन अर्थात् माघ १ गते मनाइन्छ ।
यो पर्व नेपालको एक प्रमुख चाड हो । माघे संक्रान्तिलाई मकर संक्रान्ति, माघी पर्व आदि नामले चिनिन्छ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउने गर्छन् र नयाँ वर्ष मान्ने गर्दछन् । यस दिन नेपालमा सार्वजनिक बिदा दिइन्छ ।
नेपालको समस्त भूभाग हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, लिम्बू, मगर, गुरुङ, नेवार आदि सबै जनजातिले माघे संक्रान्तिलाई आ–आफ्नो परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मान्ने गरेको पाइन्छ ।
ज्योतिष शास्त्रअनुसार माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनको नाम मकर संक्रान्ति रहन गएको हो । शास्त्रअनुसार यस दिनबाट सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ प्रवेश गर्ने भएकाले तुलनात्मक रूपमा दिन लामो हुने, रात छोटो हुने र तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्छ । त्यसैले यस पर्वको छुट्टै खगोलीय महत्व छ ।
माघे संक्रान्ति पर्व नेपालभरका विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मनाइन्छ । यस पर्वमा विशेष गरी वन तरुल, घर तरुल,
सखरखण्ड (सुठुनी) जस्ता कन्दमूल तथा फलार खाइन्छ ।
त्यसैगरी यस पर्वमा घिउ, चाकु, तिलको लड्डु पनि खाने गरिन्छ । यस पर्वको दिन नेपालका विभिन्न देवालयहरूमा स्नान, दान र श्राद्ध गर्नेहरूको भीड हुने गर्छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, तरुल, वस्त्र, पानीको भाँडो सिदा दान गरेमा विशेष फल प्राप्त हुने र निरोगी भइने धार्मिक विश्वास छ ।
शिशिर ऋतुमा पर्ने यस पर्वमा स्नान गरी शरीर शुद्ध गरी घिउ, चाकु, तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हालेर पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी रोग र अन्य रोगसमेत नाश हुने विश्वास गरिन्छ ।
धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक दृष्टिले पनि माघे संक्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ । धार्मिक रूपले यस पर्वमा कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने उक्त मानिस सात जन्मसम्म पनि निर्धन र रोगी हुन्छ भन्ने मान्यता छ ।
वैज्ञानिक दृष्टिले हेर्दा पनि यस पर्वमा परम्परा र संस्कार जीवन्त तुल्याउन गरिने सम्पूर्ण कार्यबाट मानिसको सरसफाइ हुने, मौसमअनुसारको पोषक चिजबिज खानाले निरोगी बन्न सक्ने सम्भावना रहन्छ ।