बालमैत्री सहजकर्ता हटाइएकोमा मनहरीका तीन दलको आपत्ति

अखबार हब
२०७८ पुष ३०, शुक्रबार २०:५१

मकवानपुर । नेपालकै पहिलो बालमैत्री स्थानीय शासन घोषणा भएको मकवानपुरको मनहरी गाउँपालिकाले गर्भवती र सुत्केरी समेत रहेका बालमैत्री सहजकर्ता र कृषि प्राविधिकलाई बर्खास्त गरेको घटनाप्रति प्रमुख तीन राजनीतिक दलले आपत्ति जनाएका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले शुक्रबार संयुक्त प्रेस विज्ञप्ती प्रकाशन गरी तत्काल निर्णय सच्याउन गाउँपालिकालाई आग्रह गरेको हो । गाउँपालिका काँग्रेस सभापति प्रकाश बर्तौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष रामप्रसाद कालाखेती र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नारायण श्रेष्ठले संयुक्त बिज्ञप्ती प्रकाशन गरी कर्मचारीलाई बिना कारण हटाउने निर्णयको बिरोध गरेका हुन् ।

बिगत ४ बर्षदेखि सेवारत दैनिक ज्यालादारी रुपमा रहेका ९ जना बालमैत्री सहजकर्ता र कृषि शाखामा कार्यरत प्राविधिक सहायक यशोदा दुलाललाई निस्कासन गर्ने घटनाको बिरोध गर्दै गाउँपालिकाले गर्भवती र सुत्केरी भएका अबस्थामा मानवीय संवेदनाको समेत खिल्ली उडाएको राजनीतिक दलहरुले बताएका छन् । ‘उनीहरुलाई माया, सद्भाव, सहयोग र अभिभावकीय व्यवहार गर्नुपर्नेमा उल्टै आर्थिक स्रोत नभएको बहानामा गरिएको बर्खास्तगीको घटना अक्षम्य छ’, विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा कार्यपालिकाले गरेको निर्णय सच्याउनका लागि अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष एबम् कार्यपालिका सदस्यहरुसँग माग गरिएको छ । उक्त निर्णय सच्याउन र बालमैत्री अभियानलाई निरन्तरता दिनका लागि मनहरी गाउँपालिका स्तरीय बाल सञ्जालले गरिरहेको संघर्ष र आन्दोलनको कार्यक्रमलाई साथ सहयोग र समर्थन गर्ने प्रतिबद्धता विज्ञप्तीमार्फत ब्यक्त गरिएको छ ।

पुस २७ गते कार्यपालिका बैठकले ९ जना बालमैत्री सहजकर्ता र एकजना कृषि प्राविधिकको करार सम्झौता रद्द गरी माघ १ गतेबाट काममा नलगाउने निर्णय गरेको थियो । निर्णयसँगै गाउँ बाल सञ्जाल आन्दोलित भएको छ भने गाउँपालिकाभित्रका गैर उत्पादनमुखी खर्चका शीर्षकहरुबारे चर्चा हुन थालेको छ । बालमैत्री सहजकर्ता कटौती गर्दा गाउँपालिकालाई चालू आर्थिक बर्षमा जम्मा ७ लाख २९ हजार रुपियाँ मात्रै व्ययभार पर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*