हेटौंडामा मास्कको खुलेआम कालोबजारी, सीडीओ भन्छन् –प्रमाण भेटिए तत्काल पक्रन्छौँ (भिडियोसहित)

अखबार हब
२०७८ माघ २, आईतवार १०:५३

मकवानपुर । कोरोना महामारीको मौका छोप्दै हेटौंडामा खुलेआम सर्जिकल मास्कमा कालोबजारी भैरहेको तथ्य फेला परेको छ । महामारीको संकटमा आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने नैतिक दायित्व भुलेर हेटौंडाका मेडिकल र फार्मेसीहरूले मास्कमा कालोबजारी गरिरहेका हुन् ।

बढीमा पाँच रुपैयाँसम्म पर्ने सर्जिकल मास्कलाई बजारका मेडिकल र फार्मेसीहरूले १० रुपैयाँमा खुलेआम बिक्री गरिरहेका छन् । कालोबजारी नियन्त्रण गर्ने निकाय जिल्ला प्रशासन कार्यालय मकवानपुर भने प्रमाण फेला नपरेको भन्दै पन्छिएको छ । 

हेटौंडामा मेडिकल र फार्मेसीमात्र नभई किराना, कपडा, मोबाइलदेखि घडि पसलसम्मले मास्क बिक्री गर्दै आइरहेका छन् । मास्कको सहज उपलब्धता भए पनि कालोबजारी भने मौलाइरहेको छ । मेडिकल र फार्मेसीहरूले मास्क बिक्री गरेको बिल सेवाग्राहीलाई उपलब्ध गराउँदैनन् । ‘१० रुपैयाँको मास्कको पनि कहाँ बिल दिनु । हामीले अहिलेसम्म कसैलाई दिएका छैनौँ’, शुक्रबार मास्क किन्न एक मेडिकल पुगेका राममणि न्यौपानेलाई प्राप्त जवाफ हो यो । 

मनहरी गाउँपालिका घर भएका सेवाग्राही न्यौपानेले मास्कको बिल माग्दा उल्टै मेडिकल तथा फार्मेसी व्यवसायीहरूले झपार्ने गरेको गुनासो गरे । ‘कोरोना महामारीको संक्रमण बढिरहेको छ । म लगायत सर्वसाधारणलाई मास्कको धेरै आवश्यकता परिरहेको अवस्थामा हेटौंडाका मेडिकल र फार्मेसीबाट ठगी भइरहेको छ । म मास्क किन्दा ठगिएको छ’, न्यौपानेले भने ।

सर्जिकल मास्क खरिद गर्दा डेढदेखि ३ रुपैयाँसम्म पर्न जाने नेपाल औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष सुधिर दाहालले जानकारी दिए । तर, हेटौंडाका मेडिकलदेखि किराना पसलसम्मले कानुनले तोकेभन्दा बढी मूल्य लिएर मास्क बिक्री गरिरहेका छन् । कानुनतः खरिद गरेको मूल्यमा २० प्रतिशत नाफा राखेर बिक्री गर्नुपर्ने कानुनी प्रावधान छ । कानुनीलाई कुल्चिँदै व्यवसायीहरू खुलेआम कालोबजारी गरिरहेका छन् ।

कोरोना महामारीपछि हेटौंडामा १० रुपैयाँमा सर्जिकल मास्क र दुईसय रुपैयाँमा के –९५ मास्क बिक्री भइरहेको हो । औषधि व्यवसायी संघ मकवानपुरका अनुसार के –९५ मास्क ५० रुपैयाँ मात्रै पर्छ । हेटौंडाको १ नम्बर वडास्थित अन्सारी फार्मेसी, सम्पूर्ण औषधि पसल र सक्षम औषधि पसलले मास्कको बिक्रीमा कालोबजारी गरिरहेको तथ्य प्राप्त भएको छ । ‘हेटौंडाका सबैजसो मेडिकल तथा फार्मेसीले मास्कलाई १० रुपैयाँ लिएर बिक्री गरिरहेका छन्’, न्यौपानेले भने । 

विगत दुईवर्षदेखि मास्कमा कालोबजारी भइरहे पनि कालोबजारी नियन्त्रण गर्ने निकाय जिल्ला प्रशासन कार्यालय मकवानपुर भने मुकदर्शक भएर बसिरहेको सर्वसाधारणको गुनासो छ । जिल्ला प्रशासन कार्यालय भने १० रुपैयाँमा मास्क खरिद गरेको बिलसहितको प्रमाण खोजिरहेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भरतमणि पाण्डेले मास्क १० रुपैयाँमा खरिद गरेको बिलसहितको प्रमाण दिए तत्काल कालोबजारीको मुद्दामा पक्राउ गर्ने बताउँछन् ।

‘मास्कमा कालोबजारी भइरहेको गुनासो छ । हामीलाई प्रमाण नै आएको छैन् । प्रमाण नै नभई कसैलाई मुद्दा लगाउन त मिलेन नि’, उनले भने । पाण्डेले बजारमा सादा पोशाकमा कालोबजारीयाहरूको खोजी गर्न कर्मचारी खटाएको बताएका छन् । खरिद मूल्यको २० प्रतिशतभन्दा बढी फाइदा लिएर मास्क बिक्री गरेको पाएमा कानुनअनुसार कारबाही गर्न आफू तयार रहेको पाण्डेको भनाइ छ ।

कालोबजारी नियन्त्रणमा नआउँदा भने सर्वसाधारण दिनहुँ ठगिन बाध्य भएका छन् । औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष दाहालले प्रतिमास्क पाँच रुपैयाँसम्म बिक्री गर्न व्यवसायीहरूलाई अनुरोध गरेको बताए । मास्कमा कालोबजारी गर्नेलाई कानुनी दायरामा ल्याउन प्रशासनसँग अनुरोध गरिसकेको दाहालले बताए ।सामान्य र सर्जिकल मास्क खरिद गर्दा डेढदेखि ३ रुपैयाँसम्म पर्न जाने भन्दै अधिकतम ५ रुपैयाँसम्म बिक्री गर्नुपर्ने उनले बताए । 

 

यसमा तपाइको मत

Your email address will not be published.


*