विद्यालयमाथि हेटौँडा सिमेन्टको रोपवे, जोखिममा तीन सय विद्यार्थी
मकवानपुर । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले चुनढुंगा ढुवानीका लागि २२ वर्षअघि सञ्चालन गरेको रोपवे नहटाउँदा स्कुले बालबालिका जोखिममा परेका छन् । ०४२ मा उद्योगले आफ्नो खानीबाट सिमेन्ट उत्पादन क्षेत्रसम्म चुनढुंगा ढुवानीका लागि स्थापना गरेको रोपवे १४ वर्ष सञ्चालन भएर ०५६ देखि बन्द भएको थियो । तर, हालसम्म पनि रोपवेका डब्बा, तार नहटाउँदा स्कुले बालबालिका दुर्घटनाको जोखिममा परेका हुन् ।
हेटौँडा उपमहानगरपालिका– ९ स्थित त्रिवेणी आधारभूत विद्यालयको छानामाथि रोपवेको तार छ । कक्षाकोठा सामुन्ने माथि खिया लागेका जीर्ण डब्बाहरू झुन्डिरहेका छन् । डब्बामा अहिले पनि चुनढुंगा थुपारिएको छ । यस्तो अवस्थाका रोपवेका सामग्री झरेर ठूलै दुर्घटना निम्तिने त्रासमा विद्यार्थी र शिक्षक छन् ।
विद्यालयकी प्रधानाध्यापक सुशीला पौडेलले करिब तीन सय विद्यार्थी विद्यालयपरिसरमै दुर्घटनाको जोखिमबीच अध्ययन गर्न बाध्य भएको बताइन् । ‘सिमेन्ट उद्योगको रोपवेका डब्बाहरू सबै खिया लागेका छन्, तार जीर्ण भइसकेको छ,’ उनले भनिन्, ‘डब्बामा चुनढुंगा भरिएकाले लोड धान्न नसकेर डब्बा र तार चुँडिएमा जुनसुकै वेला बालबालिका ठूलै दुर्घटनामा पर्ने हो कि भन्ने चिन्ता लागिरहेको छ ।’ उनले सिमेन्ट उद्योगको हेलचेक्र्याइँका कारण दुर्घटनाको जोखिम मोलेर वर्षौँदेखि अध्ययन गराउने शिक्षकहरू पनि उत्तिकै चिन्तित भएको बताइन् ।
पौडेलका अनुसार ०४६ मा रोपवे सञ्चालन रहेकै अवस्थामा सिमेन्ट उद्योगले १० कट्ठा जग्गा उपलब्ध गराएपछि विद्यालय स्थापना गरिएको थियो । रोपवे सञ्चालन रहँदा विद्यालय भवनमा कुनै असर नपर्ने उद्योगका प्राविधिकहरूले भनेपछि विद्यालय सञ्चालनमा ल्याइएको प्रधानाध्यापक पौडेलले बताइन् । ‘म ०५० देखि विद्यालयमा कार्यरत छु, सुरुदेखि नै रोपवे सञ्चालन भइरहेको देखेकी हुँ,’ उनले भनिन्, ‘रोपवे बन्दपछि विद्यालय क्षेत्रबाट मात्र भए पनि हटाउन अनुरोध गरेका छौँ । तर, उद्योगले बेवास्ता गर्दै आएको छ ।’ विद्यार्थी टावरमा चढ्ने, तारमा झुन्डिन खोज्ने कारणले जोखिम अझै बढेको उनले बताइन् ।
बेवारिसे संरचना हटाउन स्थानीयको आग्रहलाई उद्योगको बेवास्ता
हेटौँडा उपमहानगरपालिका– ९ का वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जीर्ण रोपवेका संरचनाले विद्यार्थी शिक्षकसँगै स्थानीय पनि जोखिममा परेको बताए । हेटौँडा सिमेन्टले रोपवे सधैँका लागि बन्द गरेपछि संरचना बेवारिसे अवस्था छाड्दा स्थानीयको गुनासो बारम्बार आइरहँदा पनि बेवास्ता गरेको प्रतिक्रिया दिए । बेवारिसे स्थितिमा झुन्डिरहेका संरचना हटाउन वडा कार्यालयले पहल गरे पनि उद्योग प्रशासनले अटेरी गर्दै आइरहेको उनले बताए ।
स्थानीयले रोपवेको जोखिममा रहेको जानकारी गराउँदै उद्योग प्रशासनलाई पटकपटक संरचना हटाउन दबाब दिँदा पनि उद्योगले बेवास्ता गरेको वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेले बताए । उनले उपमहानगरपालिकामार्फत उद्योगसँग छलफल भइसकेको र उद्योगले आश्वासन मात्र दिने गरेको आरोप लगाए । २२ वर्षसम्म पनि सिमेन्ट उद्योगले रोपवे पुनः सञ्चालन गर्न नसकेको अवस्थामा जीर्ण बनेका संरचना नहटाउँदा विद्यालय मात्र नभई भीमफेदी गाउँपालिका–१ भैँसेदेखि हेटौँडा उपमहानगरपालिका–१, ९, १० नम्बर वडाका स्थानीय दुर्घटनाको जोखिममा छन् ।
जीर्ण संरचना हटाउन तीनपटक टेन्डर आह्वान
रोपवेका जीर्ण संरचना हटाउन उद्योगले तीनपटक टेन्डर आह्वान गरिसकेको छ । उद्योगका अनुसार अन्तिमपटक एक हजार पाँच सय ६३ मेट्रिकटन फलामे सामग्री बिक्रीका लागि चार करोड २२ लाख रुपैयाँमा टेन्डर निर्धारण हुने चरणमा थियो । तर, उद्योग मन्त्रालयले सहमतिपत्र नदिँदा टेन्डर प्रक्रिया अघि नबढेको अर्थ महाशाखाका प्रबन्धक रामबाबु साहले बताए । ‘हामीले प्रक्रिया अघि बढाएर टेन्डरमार्फत मूल्य तय गरिसकेको थियौँ,’ उनले भने, ‘पटकपटक सहमति माग्दा पनि उद्योगबाट पत्र प्राप्त नहुँदा टेन्डर अघि बढाउन सकिएन, अब मन्त्रालयबाट प्रक्रिया अघि नबढाएसम्म रोपवेको संरचना हटाउन सकिँदैन ।’
०३३ मा स्थापना भएको सिमेन्ट उद्योगले भीमफेदी गाउँपालिका–१ स्थित भैँसे खानीबाट कच्चा पदार्थ चुनढुंगाा ढुवानीमा सहज हुने योजनाका साथ ०४२ देखि रोपवे सञ्चालनमा ल्याएको थियो । करिब १४ वर्ष निरन्तर सञ्चालनमा आएको रोपवेले त्यसवेला दैनिक १२ मेट्रिकटन चुनढुंगा ढुवानी गथ्र्यो । उद्योगका अर्थ प्रबन्धक रामबाबु साहका अनुसार स्थापनाको करिब ७–८ वर्षपछि रोपवेबाट ढुवानी हुने चुनढुंगाा नपुगेपछि सवारीसाधनको प्रयोग थालिएको थियो । १० वर्षपछि रोपवेमा प्राविधिक समस्या धेरै आउन थालेपछि अधिक खर्च बढेसँगै ०५६ बाट सवारीसाधनबाट मात्र ढुवानी गर्ने गरी रोपवे पूर्णरूपमा बन्द गरिएको उनले बताए । उद्योगदेखि भैँसे खानीसम्म १८ किलोमिटर दूरीमा रहेको रोपवेका आठवटा टर्मिनल र सातवटा स्टेसन र तीन सय ५३ वटा टावर छन् । तीन सय ६० वटा डब्बाबाट चुनढुंगा भैँसे खानीबाट उद्योगसम्म ढुवानी गरिन्थ्यो । रोपवे बिहान ६ देखि राति १० बजेसम्म दुई सिफ्टमा सञ्चालन गर्ने गरिएको थियो ।
माथिल्लो निकायले चासो नदिँदा हटाउन सकिएन : प्रेमशंकर सिंह, महाप्रबन्धक हेटौँडा सिमेन्ट उद्योग
मैले व्यक्तिगत रूपमा धैरेपटक रोपवेको संरचना हटाउन चासो देखाएकै हो । तर, नियमानुसार महाप्रबन्धकको निर्णयले मात्र संरचना हटाउन सकिँदैन । टेन्डरमार्फत आर्थिक ऐन पालना गरेर अघि बढ्नुपर्ने हुँदा माथिल्लो निकायले गम्भीर रूपमा नलिँदा लामो समय संरचना अस्तव्यस्त अवस्थामा रहेको हो । धेरैपटकसम्म टेन्डर भइसक्यो । स्क्र्यापको मूल्य महँगो हुँदा सञ्चालक समितिले टेन्डर आह्वान नै गरेन । सस्तो हुँदा नियम पूरा हुन सकेन । यस्तो अवस्थाका कारण लामो समय जीर्ण संरचना अस्तव्यस्त भएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।