लघुवित्तहरुले शेयरधनीहरुलाई दिने लाभांशदर बढाए
काठमाडौं । यस वर्ष लघुवित्त कम्पनीहरुले शेयरधनीहरुलाई दिने लाभांशदर बढाएका छन् । लघुवित्त कम्पनीहरुले घोषणा गरेको लाभांश हेर्दा अधिकाँश लघुवित्त कम्पनीको लाभांश दर बढेको हो ।
तथ्याङ्क अनुसार गत आर्थिक वर्षको कमाइबाट ३३ लघुवित्तले औषतमा २५.१३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् । गत आर्थिक वर्षमा यी ३३ लघुवित्त कम्पनीहरुले औषतमा १९.४९ प्रतिशत मात्रै लाभांश वितरण गरेका थिए ।
गत वर्ष अधिकाँश लघुवित्तले नाफा उच्च दरले बढाएका थिए । गत आर्थिक वर्षमा बैंकिङ्ग प्रणालीमा तरलता पर्याप्त हुँदा ब्याजदर घटेको थियो । ब्याजदर घट्दा लघुवित्त कम्पनीहरुले लिने सापटीको ब्याजदर समेत घटेको थियो। जसले गर्दा उनीहरुको लागत कम पर्न गएको थियो । त्यसको प्रभाव नाफामा पर्दा उनीहरुको नाफा उच्च दरले बढेको थियो ।
नाफा बढेसँगै लघुवित्त कम्पनीहरुले शेयरधनीलाई वितरण गर्ने लाभांश दर पनि बढाएका हुन्। गत वर्षको तुलनामा यस वर्ष बैंकहरुको लाभांश दर २९ प्रतिशतले बढेको हो ।
यस वर्ष जनउत्थान सामुदायिक लघुवित्त,फस्ट माइक्रोफाइनान्स,वोमी लघुवित्त,ग्लोबल आइएमई लघुवित्त, आरएसडिसि लघुवित्त, समता घरेलु लघुवित्तको लाभांश दर घटेको छ ।