कार्गो भाडा महंगो हुँदा हस्तकलाको निर्यात खस्कियो
काठमाडौं । कोरोना महामारीका कारण निकै खस्किएको हस्तकलाको व्यापार झन पछिल्लो समय खस्किँदै गएको छ । सामान्य अवस्थामा वार्षिक १२ अर्बसम्म निर्यात हुँदै आएकोमा कोरोनाका कारण ६ अर्बमा सीमित भएको छ ।
कोरोना महामारीले समय–समयमा लागू भएको लकडाउन र निषेधाज्ञाका कारण निर्यातमा निकै धक्का पुगेको थियो । साथै, विश्वका विभिन्न मुलुकमा निर्यात हुँदै आएको हस्तकला कोरोनाले गर्दा माग र आपूर्ति सुस्त भएको थियो ।
करिब २ वर्षअगाडि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारी हालसम्म पनि कायमै छ । तर, कोरोना संक्रमण कायमै रहेपनि अवस्था भने सामान्य हुँदै गएको छ ।
कोरोना संक्रमणको तेस्रो लहरसम्म आइपुग्दा अवस्था सामान्य भएपनि हस्तकला क्षेत्र भने हालसम्म तंग्रिन सकेको छैन । अन्य क्षेत्रमा बिस्तारै रिबाउन्स हुँदै गएको अवस्थामा हस्तकला क्षेत्र भने झन खस्किँदै गएको देखिन्छ ।
धागो, कार्पेट, जुटको वस्तु, फेल्टको वस्तु, टेक्सटायल, पेपर ब्याग, कटन ब्यागलगायत अन्य क्षेत्रका निर्यात उच्च भइरहेको अवस्थामा हस्तकलामा भने झनझन खस्किँदै गएको सरकारी तथ्याङ्कले उल्लेख गर्दछ ।
आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्ममा कोरोनाको कुनै असर देखिएको थिएन । सो वर्ष नेपालले ४४ करोड ५ लाख ७० हजार रुपैयाँ बराबरको हस्तकला निर्यात गर्न सफल भएको थियो ।
तर, गत वर्ष भने कोरोनाको निकै प्रभाव परेको थियो । जसले गर्दा ६ महिनाको अवधिमा हस्तकला निर्यात ३२ प्रतिशतले घटेको थियो । सो अवधिमा नेपालबाट २९ करोड ९५ लाख ८७ हजारको मात्रै निर्यात गर्न सफल भएको थियो ।
कोरोना महामारीका कारण लागू भएको लकडाउन र निषेधाज्ञाको समयमा अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण धेरै प्रभाव परेको थियो । जसले गर्दा धेरै व्यवसायी मारमा परेका थिए ।
हाल पनि कोरोना महामारीकै समय छ । तर, अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या छैन । तर, पनि चालु आवको ६ महिनाको अवधिमा हस्तकलाको निर्यात घटेको छ ।
चालु आवको पुस मसान्तसम्ममा नेपालबाट २८ करोड २ लाख २३ हजार रुपैयाँको मात्रै हस्तकला निर्यात गर्न सफल भएको छ । जुन गत वर्षको तुलनमा ६.४६ प्रतिशतले कमी आएको निकासी तथा प्रवर्द्धन केन्द्रको तथ्याङ्कले देखाउँदछ ।
महंगो कार्गो भाडा
कोरोना महामारीले उत्पादन र निर्यात गर्न निकै समस्या भएको अवस्थामा अहिले थप कार्गो भाडाले व्यवसायी मारमा परेको नेपाल हस्तकला महासंंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्य बताउँछन् ।
उनकाअनुसार कोरोनाले उत्पादनलगायत अन्य विभिन्न समस्या भोगिरहेको अवस्थामा गत वर्षदेखि कार्गो भाडाले व्यवसायी मारमा परेको छ । ‘पहिलो चरणमा कोरोनाले उत्पादनसँगै निर्यात गर्न सकेका थिएनौं,’ उनले भने, ‘अहिले उत्पादन गर्न सकेका छौं । तर, निर्यात गर्न सकेका छैनौं ।’
हाल व्यवसायीहरूले उत्पादनमा कुनै समस्या नरहेको बताउँदै आएका छन् । तर, कार्गोमार्फत् निर्यात गर्ने मूल्य भने तीन गुणा बढेकाले निकै चुनौती देखिएको उनको भनाइ छ ।
विगतको दिनमा पठाउन नभई नहुने सामग्री कार्गोको भाडा जति नै महंगो भएपनि पठाएका थियौं । अहिले सामान्यभन्दा सामान्य सामग्री निर्यात गर्न निकै महंगो भाडा छ । जसले गर्दा मागअनुसार निर्यात गर्न निकै चुनौती बनेको छ ।
‘कार्गो भाडा निकै महंगो भएर पर्याप्त मात्रामा निर्यात गर्न सकेको छैन । साथै, आयात गर्ने व्यवसायीले पनि महंगो कार्गो तिरेर लैजान सकेको छैन,’ उनले भने ।
विश्व बजारमा हस्तकला क्षेत्रमा निकै प्रतिस्पर्धा छ । उक्त प्रतिस्पर्धाले गर्दा विभिन्न मुलुकका आयातकर्ताले जुन सस्तो र राम्रो छ सोही देशबाट आयात गरेर आपूर्ति गर्ने गर्छन् । त्यसमा निर्यात गर्ने व्यवसायीले कतिको मार्जिन राखेर सस्तो र राम्रो वस्तु निर्यात गर्न सफल हुन्छ भन्ने मुख्य कुरा हुन्छ ।
नेपालले कच्चा पदार्थ पनि विदेशबाटै आयात गर्नुपर्छ । आयातित वस्तुको मूल्य पनि महंगो, कार्गो भाडा पनि महंगो र उत्पादन गरी निर्यात गर्दा झन महंगो पर्ने देखिन्छ । त्यसैले, नेपालबाट निर्यातित वस्तु निकै महंगो मूल्यमा बिक्री गर्नुपर्ने हुन्छ ।
अन्य मुलुकमा उत्पादन भएको हस्तकलाको तुलनामा नेपालको हस्तकलाको मूल्य निकै महंगो पर्न जाने हुँदा थोरै मात्रै निर्यात हुँदै आएको छ ।
नेपालबाट विश्वका मुख्य ४० भन्दा बढी देशमा हस्तकला निर्यात हुँदै आएको छ । तर, पछिल्लो समय कार्गो भाडा महंगो भएका कारण माग कम आउने गरेको उनले बताए । त्यसैगरी, बजारमा उत्पादन भएको नयाँ–नयाँ सामग्रीको बजारीकरण गर्न नसक्दा पनि निर्यात कम भएको उनको धारणा छ । (क्लिकमाण्डूबाट)