न सर्वसाधारणको ज्ञान, न सरोकारवालाको ध्यानः हेटौंडामा लथालिङ्ग ट्राफिक व्यवस्थापन (भिडियो सहित)

ट्राफिक भन्छन्–उपमहानगरपालिकाले पाकिङ्गको लागि ठाउँ उपलब्ध गराए सबै व्यवस्थापन हुन्छ
राममणि न्यौपाने
२०७८ माघ २१, शुक्रबार २०:१६

मकवानपुर । हेटौँडा बजार क्षेत्रभित्रका साँघुरा सडक र अस्तव्यस्थ सवारी व्यवस्थापनले हेटौँडा नगरको मुहार कुरुप बन्दँै गएको छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा बजार क्षेत्रमा दिनानु दिन बढ्दै गएको अटो,मयुरी र अन्य सवारी साधनको चापका कारण दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।

अस्तव्यस्थ ट्राफिक व्यवस्थापन, सवारी चालकहरुको मनोमानीले गर्दा पैदल यात्रीको ज्यानसमेत जोखिममा परेको छ । यसो त पर्याप्त जेब्राक्रसिङ नहुँदा बाटो काट्ने निश्चित स्थानसमेत छैन हेटौँडामा । भएका जेब्राक्रसिङहरु मेटिँदै जाँदासमेत सरोकारवाला निकायको आँखा पुग्न सकेको छैन । यद्यपी आम सर्वसाधरणमा ट्राफिक ज्ञान नहुँदा जथाभावी बाटो काट्ने गरेको दृश्य हेटौँडामा नै देख्न सकिन्छ । सर्वसाधारणमा चेतना अभाव हुँदा सडक छेउमा बनाइएका फुटपाथहरु प्रयोगविहीन बनेका छन् । हेटौँडा बजार क्षेत्रमा बनेका फुटपाथबाट हिड्ने पैदल यात्री सडकबाट हिँड्दा फुटपाथ प्रयोग विहिन बनेका हुन् । यस्ता धेरै लापरबाहीका दृश्य देखिँदासमेत सरोकारवाला निकाय मुकदर्शक भएर मात्र बसेको छ ।

उता दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थानमा चार पाङ्ग्रेको राज चलेको छ, ट्राफिक प्रहरीसँग पर्याप्त जनशक्ती नहँुदा ट्राफिक प्रहरी मुख्य चोकमा बसेर सिठठ्ी फुक्न विवश छ । तर, बजार क्षेत्रका भित्रि गल्लीहरु सवारी साधनले खचाखच हुँदा पैदल यात्रीले खुट्टासमेत राम्ररी राख्न पाएका छैनन् ।

अनि उस्तै छ दुई–साईड कार्यान्वयनको अवस्था । सडक पेटीहरु खचाखच भरिएका छन् । नो पार्किङमा सवारी साधनहरु खचाखच छन् अनि तोकीएको पार्किङ क्षेत्र खाली छ तर पनि मौन छ नियामक निकाय । यति मात्र हैन बजार क्षेत्रभित्र सर्वसाधरणका लागी तोकीएको अटो, मयुरी या अन्य सवारीका लागी स्टप छैन जसका कारण ट्राफिक व्यवस्थापनले हेटौँडालाई गिज्याइरहेको छ । एक जना यात्रु पाउने वित्तिकै सडकको बिचमै भएपनि घचक्क ब्रेक लगाईहाल्ने भाडाका सवारीसाधनका कारण दुर्घटनाको जोखिम उत्तिकै बढेको छ ।

दिनानुदिन बढ्दै गएका सवारी साधन अनि दिनप्रतिदिन खच्कीँदै गएको हेटौँडाको ट्राफिक व्यवस्थापन जसका कारण हेटौँडा बजार क्षेत्र निकै जोखिममा रहेको छ । यसको नियन्त्रण गर्नका लागी सम्बन्धित निकायले समयमा नै ध्यान पुर्याउनु जरुरी देखिन्छ ।

हेर्नुस् भिडियोः

यसमा तपाइको मत

Your email address will not be published.


*