नेपालमा रासायिनक मल कारखाना खोल्न तीन विदेशी कम्पनीको प्रस्ताव
काठमाडौं । नेपालमै रासायिनक मल कारखाना खोल्न तीन विदेशी कम्पनीले लगानी प्रस्ताव गरेका छन् । छिमेकी मुलुक भारतसहित बेलायत र जर्मनीका कम्पनीले मल कारखाना खोल्न प्रस्ताव पेश गरेको लगानी बोर्डले जनाएको छ ।
सरकारले नेपालमै मल कारखाना खोल्न भन्दै लगानी मोडल अध्ययन गरिरहेको बेला यस्तो प्रस्ताव आएको लगानी बोर्डका उपसचिव एवं सूचना अधिकारी रमेश अधिकारीले बताए । जर्मनीको डीआईएजी, भारतको ईएक्स आईएन र बेलायतको इन्फालिङस् नामक कम्पनीले मल कारखानामा लगानी गर्न प्रस्ताव गरेको उनको भनाइ छ ।
‘प्राकृतिक ग्याँस वा विद्युत कुन प्रविधिमा आधारित उद्योग खोल्ने भन्ने बहस र अध्ययन भइरहेको बेला तीन कम्पनीबाट प्रस्ताव आएको छ, हामी अध्ययन गर्दैछौं,’ अधिकारीले भने । नेपालको मल कारखानामा लगानी गर्न आएको प्रस्तावमा प्रारम्भिक अध्ययन गर्न एक समिती गठन गरेको पनि बोर्डले जनाएको छ ।
रासायिनक मलको चरम अभाव भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको पालामा २०७७ कात्तिक १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वदेशमै मल कारखाना खोल्नेबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा उद्योग र कृषि मन्त्री सदस्य थिए । प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा कारखाना स्थापना गर्न झण्डै एक खर्ब लाग्ने भन्दै तीन प्रकारको लगानी मोडल प्रस्ताव गरेको थियो । जसमा ४० प्रतिशत निजी, विदेशी ४० प्रतिशत र २० प्रतिशत सरकारी लगानीमा कारखाना खोल्ने सुझाइएको थियो । मल कारखानाबारे थप अध्ययन गर्ने भन्दै आर्थिक वर्ष २०७८/७९ को बजेटले नेपालमा मल कारखाना खोल्ने र यसका लागि थप अध्ययन गर्ने निती लिएको थियो ।