राष्ट्र उत्थान लघुवित्तको आईपीओमा साढे २० लाख बढीको आवेदन, आइतबारसम्म भर्न पाइने
काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) शुक्रबार साँझसम्ममा २० लाखभन्दा बढी आवेदन परेको छ ।
शुक्रबार साँझ साढे ५ बजेसम्म २० लाख ६७ हजार ४ सय ४३ जना आवेदकबाट २ अर्ब ४१ करोड ६८ लाख ६४ हजार रुपियाँ बराबरको २ करोड ४१ लाख ६८ हजार ६ सय ४० कित्ता शेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ ।
राष्ट्र उत्थानले फागुन ४ गते बुधबारदेखि ८ करोड ५० लाख रुपियाँ बराबरको ८ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन खुला गरेको छ । कम्पनीको आइपीओमा छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ ।
कूल निष्काशन ८ लाख ५० हजार कित्ता मध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याएर बाँकी ७ लाख ९४ हजार ५०० कित्ता सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो ।
सर्वसाधारणका लागि छुट्याइएको ७ लाख ९४ हजार ५०० कित्ता शेयर ७९ हजार ४ सय ५० जनाले गोलाप्रथाबाट १०–१० कित्ता शेयर पाउने छन् । पछिल्लो समय आईपीओमा २७ लाखको संख्यामा आवेदन पर्ने भएकाले उक्त कम्पनीको शेयर १० कित्तामात्र भर्नु उपयुक्त देखिन्छ ।
बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हाल कायम चुक्ता पूँजी १७ करोड ५० लाख रुपियाँ छ भने आईपीओ बाँडफाँटपश्चात चुक्ता पूँजी २६ करोड पुग्नेछ ।
संस्थाको केन्द्रीय कार्यालय साँगा, बनेपा १३, काभ्रेपलाञ्चोकमा रहेको छ ।