बालमैत्री घोषित मनहरीका ३ सय ५१ बालबालिका बालश्रममा

अखबार हब
२०७८ फाल्गुन ९, सोमबार २०:३५

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको ४ वटा वडाको ३ सय ५१ जना बालबालिका बालश्रममा रहेको पाइएको छ । बालमैत्री गाउँपालिका घोषित यस मनहरीमा २, ४, ६ र ८ नम्बर वडाका ७ हजार १४ जना बालबालिकामा गरिएको सर्वेक्षणमा २ सय ३९ बालक र १ सय १२ बालिका गरी ३ सय ५१ जना बालबालिका बालश्रममा रहेको पाइएको हो ।

बालश्रमिकमध्ये मनहरी गाउँपालिका भित्र १ सय ४४ जना र मनहरी गाउँपालिका बाहिर २ सय ७ जनाले बालश्रम गरिरहेको देखिएको छ । जसमध्ये वडा २ र ४ नम्बर वडाका बालबालिका गलौचा कारखानामा बढी कार्यरत रहेको पाइएको छ भने ६ नम्बर वडाका बालबालिका घरेलु बालश्रम, गलैंचा कारखाना र यातायात क्षेत्रमा कार्यरत रहेका छन् । ८ नम्बर वडाका बालबालिका घरेलु श्रम र यातायात श्रेत्रमा बढी बालबालिका कार्यरत रहेका छन् । घरेलु श्रममा रहेकामध्ये अधिकांश बालबालिका ३४ जना आफ्नै घरमा, १४ जना आफन्तको घरमा र केही बालबालिका अपरिचित व्यक्तिको घरमा काम गरिहेको तथ्यांकले देखाएको छ । ती बालबालिकाहरु विद्यालय जान नपाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख भए अनुसार वर्तमान अवस्थामा काम छोड्ने २ सय ३७ जना र तत्काल काम छोड्ने योजना नबनाएका बालबालिका १ सय १४ रहेका छन् । बालश्रममा जानुको प्रमुख कारण गरिबी रहेको पाइएको छ । आर्थिक कारणले २ सय ८६ जना, घरेलु हिंसाका कारणले २१ जना, साथीभाइहरुको प्रभावले १ सय १५ जना, आर्थिक सहयोगका लागि परिवारको दवावले ६ जना, रोजगारदाताको प्रभावले १९ जना, पढाइमा रुची नभएर ११७ जना बालबालिका श्रम गर्न बाध्य भएको तथ्यांकले देखाएको छ । बालश्रमिकमध्ये विवाहित ११ जना र अविवाहित ३ सय ४० जना रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published.


*