कांग्रेससँग सहकार्यका लागि एमालेका पुरानै सर्त

अखबार हब
२०७८ फाल्गुन १४, शनिबार ०७:३८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्ना पूर्ववत् सर्तहरू पूरा भए एमसिसीमा अनिर्णीत नबस्ने र परिपक्व निकास दिने बताएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूसँगको छलफलमा एमाले अध्यक्ष केपी ओलीले त्यसका लागि आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखको राजीनामा सर्त दोहोर्‍याएका छन् ।

एमालेले माधव नेपालसहितका १४ सांसदमाथि कारबाही वा सभामुख अग्नि सापकोटालाई हटाउन तयार भए कांग्रेससँग सहकार्य हुने स्पष्ट पारेको छ । तर, सर्त पूरा गर्न नसके अर्ली इलेक्सनमा जान प्रधानमन्त्री देउवालाई एमालेको प्रस्ताव छ । अहिलेको संसद् केही नेताको बन्धक बनेको र काम गर्न नसक्ने एमालेको निष्कर्ष छ । शुक्रबार साँझ प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष ओलीबीच बालकोटस्थित ओलीनिवासमा संसद् अवरोध हटाउने र संसद्मा टेबुल भएको एमसिसी सबैको सहमतिमा पारित गर्नेबारे छलफल भएको बैठकपछि नेताहरूले बताएका छन् । प्रधानमन्त्री देउवाले एमसिसीलाई सबैको सहमतिमा प्रतिनिधिसभाबाट अनुमोदन गर्न गरेको प्रस्तावमा ओलीले आफ्ना सर्त राखेका हुन् ।

स्रोतका अनुसार सहकार्यका लागि समझदारी बने एमालेले सरकारमा सहभागी नभई बाहिरैबाट सहयोग गर्ने बताएको छ । आफूहरूले वर्तमान सरकारलाई ‘परमादेशी सरकार’ भनिरहेकाले सहभागी हुन नैतिक रुपमा गाह्रो हुने एमाले नेताहरूको भनाई छ । तर, तीनवटा प्रदेश सरकारहरूमा भने आफ्नो दाबी रहने एमालेले जनाएको स्रोतको भनाइ छ । यस विषयमा एमालेका तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ र कांग्रेसका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहकार्य भए प्रदेश सरकारहरूको गृहकार्य गरिरहेका छन् । दुई पार्टीका नेताहरूबीच मिलेर जाने विषयमा छलफल भए पनि बुँदागत छलफल नभएको स्रोतको भनाइ छ ।

एमाले अध्यक्ष ओलीले माओवादीबाट आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको दाबी पनि प्रधानमन्त्री देउवासमक्ष गरे । उनले दुईपटक यस्तो भनेका स्रोतको भनाइ छ । तर, प्रधानमन्त्रीसँगको छलफलमा माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग सरकारका विषयमा कुनै कुरा नै नभएको बताएका थिए । आजको नयाँपत्रिका दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*