भारतले युक्रेनमा रहेका आफ्ना नागरिकको उद्धार गर्दै, नेपाल सरकार भने अझै अलमलमा
काठमाडौं । भारतले युक्रेनबाट आफ्ना नागरिक उद्धारको तयारी गरिरहँदा नेपाल भने अलमलमै छ । भारतले उद्धारका लागि आफ्ना नागरिक जम्मा गरिरहेको छ । तर, नेपालले कुनै ठोस निर्णय लिएको छैन । ‘हामी सम्भावित उपायको खोजीमा छौँ, रुस र जर्मनीस्थित राजदूतावासले नेपालीसँग समन्वय गरिरहेको छ, हामी सम्बद्ध सबै मुलुकसँग समन्वय गरिरहेका छौँ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन् ।
त्रसित नेपालीहरू किभबाट युक्रेनको पश्चिमी भागतर्फ जान थालेका छन् । गैरआवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले स्लोभाकियाले युक्रेनी र विदेशी नागरिकलाई सीमा खुला गरेका कारण नेपालीहरू त्यसतर्फ गएको जानकारी फेसबुकमार्फत सार्वजनिक गरेका छन् । परराष्ट्र मन्त्रालयले नेपालीलाई युक्रेनबाहिर निकाल्ने विषयमा समन्वयका लागि कूटनीतिक च्यानलमार्फत भारतीय अधिकारीहरूसँग छलफल गरेको कूटनीतिक स्रोतले बताएको छ ।
भारतले पश्चिम युक्रेनको लेभिव सहरमा आफ्ना नागरिक जम्मा गर्न थालेको छ । भारतले युक्रेनमा रहेका भारतीयलाई देखिने गरी भारतीय झन्डाको ब्यानरसहित गाडीमा पश्चिम युक्रेन पुग्न आग्रह गरेको छ । त्यहाँबाट पोल्यान्ड, हंगेरी, रोमानियासहितका अन्य युरोपेली मुलुक हुँदै उद्धार गर्ने तयारी छ । शुक्रबार युक्रेनका लागि भारतीय राजदूतावासले ट्राभल एड्भाइजरी जारी गर्दै यो जानकारी दिएको छ ।
युक्रेनबाट बाहिरिन भारत सरकार र त्यहाँ रहेको दूतावासले रुटको बन्दोबस्त गरिरहेको र यसबारे रुसी तथा युक्रेनी अधिकारीहरूसँग समन्वय भइरहेको भारतले जनाएको छ । भारतीय दूतावासले विद्यार्थीलाई त्यहाँ आफ्नो एजेन्टसँग सम्पर्कमा रहन भनेको छ । पासपोर्ट तथा अमेरिकी डलरमा मुद्रा बोक्न आग्रह गरेको छ । कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र साथमा राख्न र गाडीमा भारतीय झन्डाको ब्यानर टाँसेर यात्रा गर्न आग्रह गरेको छ । बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनमा रहेका भारतीयको सुरक्षामा चासो राखेका थिए ।
ज्यान जोगाउन भूमिगत मेट्रो स्टेसनदेखि छिमेकी देशको सीमामा हजारौँको भिड
युक्रेनमा बिहीबारदेखि सैन्य अप्रेसन सुरु गरेको रुसी सैनिक शुक्रबार किभबाट २० माइलभित्रसम्म प्रवेश गरेका छन् । युक्रेनका विभिन्न भूभागमा आक्रमण गर्दै बिहीबार रातभर किभवरपर बमवर्षा गरेका उनीहरूले शुक्रबार किभको उत्तरी भूभागमा आक्रमण जारी राखेका छन् । उनीहरूले सैन्य बेसमाथि मिसाइल प्रहार गरेका छन् । हालसम्म कम्तीमा एक सय ३७ युक्रेनी सैनिकको मृत्यु भएको युक्रेनी रक्षा अधिकारीहरूले बताएका छन् । हजारौँ सर्वसाधारणले ज्यान जोगाउन भूमिगत मेट्रो स्टेसनमा शरण लिएका छन् ।
हंगेरीको सिमानामा युक्रेन छाड्नेको ठूलो भिड छ । हंगेरीले युक्रेनी र विदेशी नागरिकलाई प्रवेश अनुमति दिएसँगै सीमामा भिड लागेको हो । युक्रेनीहरू पोल्यान्डको सीमा क्षेत्रमा पनि जम्मा भएका छन् । पोल्यान्डले त्यहाँ सम्पर्क केन्द्रहरू स्थापना गरेर युक्रेनी नागरिकलाई खाने र बस्ने प्रबन्ध मिलाएको बिबिसीले जनाएको छ । युक्रेनबाट एक लाखभन्दा बढी विस्थापित भइसकेको र थप ५० लाख विस्थापित हुने संयुक्त राष्ट्रसंघको अनुमान छ ।
रुसी राष्ट्रपतिलाई युक्रेनी राष्ट्रपतिको अनुरोध– जनताको मृत्यु रोक्न युद्धविराम गरेर वार्तामा बसौँ
युक्रेन सरकारलाई अपदस्थ गर्न रुसी सैनिकले राजधानी किभमा क्षेप्यास्त्रबाट आक्रमण गरिरहेको छ । समुद्र, स्थल र हवाई माध्यमबाट एकैसाथ हमला गरेको रोयटर्सले जनाएको छ । युक्रेनले रुसविरुद्ध लडाइँका लागि आफ्ना नागरिकलाई सेनामा भर्तीका लागि आह्वान गर्दै उमेरको हदबन्दी हटाएको छ । केही दिनमै युक्रेन रुसको कब्जामा पुग्ने विश्लेषण अमेरिकी गुप्तचर अधिकारीहरूले गरेको सिएनएनले जनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार भिडियो सन्देश जारी गर्दै रुसी समकक्षीलाई वार्ताका लागि अनुरोध गरेका छन् । आफूले राष्ट्रपति पुटिनसँग प्रत्यक्ष वार्ता चाहेको उनको भनाइ छ । उनले युद्धविरामका लागि रुससँग अनुरोध गरेका छन् भने युक्रेनको प्रतिरक्षाका लागि आफू तयार रहेकोसमेत उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले युक्रेनलाई संकटमा साथ नदिएकोसमेत उनको गुनासो थियो । शुक्रबार साँझ जारी पछिल्लो भिडियो सन्देशमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, ‘म फेरि पनि रुसी महासंघको संसद्लाई सम्बोधन गर्न चाहन्छु । युक्रेनभरि अहिले भइरहेका लडाइँ रोकौँ र जनताको मृत्यु रोक्नका लागि वार्तामा बसौँ भन्ने आह्वान गर्न चाहन्छु ।’ तर, रुसले युक्रेनसँग वार्तामा बस्न अस्वीकार गरेको छ ।
रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले युक्रेनका जनतामाथि भएको दमनबाट युक्रेनलाई मुक्त गर्न सैनिक अप्रेसन गरिएको भन्दै आक्रमणको प्रतिरक्षा गरेका छन् । शुक्रबार मस्कोमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘युक्रेनलाई निःशस्त्रीकरण गर्दै त्यहाँका जनतालाई स्वतन्त्र रूपमा आफ्नो भविष्यको फैसला गर्ने वातावरण बनाउन राष्ट्रपति पुटिनले यो कदम चाल्नुभएको हो ।’
शुक्रबारै रुसी राष्ट्रपति भ्लादिभिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग युक्रेनको परिस्थितिबारे टेलिफोन संवाद गरेका छन् । युक्रेनमा शान्ति स्थापनाका लागि रुसले गर्ने प्रयासलाई समर्थन गर्ने वचन राष्ट्रपति सीले दिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । पुटिनले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताहरूसँग पनि टेलिफोन संवाद गरेका थिए ।
युक्रेनप्रति समर्थन जनाउँदै युरोपियन युनियन सम्बद्ध राजदूतहहरूले शुक्रबार नेपालका परराष्ट्रसचिव भरतराज पौड्यालसँग भेट गरेका छन् । उनीहरूले इयूअन्तर्गतका राजदूतहरूका तर्फबाट युक्रेनमाथि रुसी आक्रमणको निन्दा गर्दै सार्वभौम मुलुकमाथि हस्तक्षेप र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको भन्दै रुसको विरोधमा ऐक्यबद्धता जनाएका थिए । नेपालले रुसी आक्रमणको बिहीबार नै निन्दा गरेको थियो ।