जिल्लाकै उत्कृष्ट स्थानीय तह बन्यो थाहानगर

अखबार हब
२०७८ फाल्गुन २१, शनिबार १७:२३

मकवानपुर । उत्तरी मकवानपुर रहेको थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार थाहा नगरपालिका मकवानपुर जिल्लाकै उत्कृष्ट भएको हो ।

थाहाले आयोगको मुल्याङ्कनमा ७०.०८ अंक प्राप्त गरेको थाहा नगरपालिकाका स्थानीय तहको कार्य सम्पादन प्रगति अनलाइन रिपोटिङ फोकल पर्सन सुरजकुमार भुजेलले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन गरेको थियो ।

आयोगले तोकेको सूचकमा थाहा नगरले राम्रो काम गरेको भुजेलले बताए । ‘रिपोटिङमा गरे भन्दा कम अंक हो, अझ पुर्नमूल्याङ्कनका लागि प्रमाण पेश गछौं’ उनले भने । आयोगले १८ फागुनमा कार्य सम्पादन मूल्याङ्कन सार्वजनिक गर्दै तथ्याङ्क र प्राप्ताङ्कमा परिमार्जन गर्न परे ठोस प्रमाणसहित ७ दिन भित्र कार्यविधि बमोजिम पुनरावलोकनका लागि पत्र पठाउन स्थानीय तहहरुलाई परिपत्र गरेको छ ।

जिल्लाकै उत्कृष्ट स्थानीय तहको घोषणा भएसँगै नगर प्रमुख लवशेर बिष्टले पालिकाको कार्य सम्पदन, मूल्याङ्कन प्रभावकारी रुपमा जिम्मेवार बहन गर्ने सबै जनप्रतिनीधि र कर्मचारीलाई धन्यवाद दिएका छन् ।

आयोगको मुल्याङ्कन अनुसार सबैभन्दा कम प्राप्ताङ्क मकवानपुरको मनहरी गाउँपालिकाले पाएको छ । मनहरीले ४४.१३ अंक पाएको हो । त्यस्तै मकवानपुरगढी गाउँपालिकाले ६५.०७, बकैयाले ६१.८८, राक्सिराङले ६०, कैलाशले ५६.९९, भिमफेदीले ५६.४५, बागमतीले ५३.१७, इन्द्रसरोवर गाउँपालिकाले ५१.०२ र हेटौंडा उपमहानगरपालिकाले ४५.७३ मूल्याङ्कन अंक पाएको छ ।

आयोगले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ बमोजिम वार्षिक रुपमा मुल्याङ्कन गर्ने गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*