स्थानीय तहमा अस्पताल निर्माण योजनाः १६ महिना बित्यो इन्द्रसरोवरले जग्गा पाएन

अखबार हब
२०७८ फाल्गुन २३, सोमबार १४:००

मकवानपुर । गत वर्ष १५ मंसिरमा देशभरका ३ सय ९६ स्थानीय तहमा एकै दिन शिलान्यास गरिएको अस्पताल निर्माण प्रक्रियाअन्तर्गत १६ महिना बितिसक्दा हालसम्म मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले जग्गासमेत प्राप्ती गर्न सकेको छैन ।

जग्गा प्राप्ती गर्न नसक्दा अरु स्थानीय तहले निर्माणलाई तीब्रता दिइरहँदा इन्द्रसरोवरमा अस्पतालको शिलान्यासनै भएको छैन । इन्द्रसरोवरले हालसम्म अस्पतालका लागि उपयुक्त जग्गा नपाएको भन्दै ठेक्का प्रक्रिया पनि सुरु गरेको छैन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले उपयुक्त स्थानमा जग्गा नपाउँदा निर्माण प्रक्रिया ओझेलमा परेको बताए ।

उनका अनुसार इन्द्रसरोवर–२ कुलेखानी ड्याम नजिक खानी खोला नेपाल विद्युत प्राधिकरणको ७ रोपनी जग्गा उपयुक्त देखिएपछि गाउँपालिकाको स्वामित्वमा ल्याउने प्रक्रिया सुरु गरिएको छ । विद्युत प्राधिकरणमा जग्गा प्राप्तीका लागि सबै कागजात पु¥याइएपनि प्राधिकरणले निर्णय गर्न ढिलाइ गर्दा समस्या भएको लम्सालको भनाइ छ । प्राधिकरणको जग्गाबाहेक अन्यत्र पायक नपर्ने र अनुपयुक्त भएकोले अन्यत्र खोजी नगरिएको उनले बताए । इन्द्रसरोवरमा ८० लाख लागतमा ५ शैय्याको अस्पताल निर्माण हुनेछ ।

चार स्थानीय तहमा धमाधम निर्माण

मकवानपुरका पाँच स्थानीय तहमा अस्पताल निर्माणको योजना अघि सारिएको थियो । इन्द्रसरोवर गाउँपालिकाबाहेक थाहा नगरपालिका, राक्सिराङ, मनहरी र कैलाश गाउँपालिकाले निर्माणलाई तीब्रता दिएका छन् ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकाले गत २६ बैशाखमा ठेक्का सम्झौता गरेर काम अघि बढाएको हो । थाहा नगर प्रमुख लवशेर बिष्टका अनुसार ३३ रोपनीमा थाहा–४ क्याम्पाडाँडामा निर्माण गरिने अस्पताल १२ करोड ५६ लाख लागतमा १५ शैय्याको हुनेछ । जग्गा खोजी र डिपिआर बनाउनका लागि समय खर्चिएपनि तोकिएको समयमै २५ बैशाख २०८० सालसम्म निर्माण गरिसक्ने गरी काम भइरहेको बिष्टको दाबी छ ।

मनहरी गाउँपालिका–७ मनहरी बजारमा १० करोड १५ लाख लागतमा निर्माण १५ शैय्याको अस्पतालका गत जेठको अन्तिम साता ठेक्का सम्झौता गरिएको थियो । ‘हाल रहेको जीर्ण अस्पताल भवन रहेको स्थानमै निर्माण गरिने भएकोले भत्काउन समय खर्चिनु परेको हो ।’ उनले भने, ‘अस्पताल भवन भत्काएपछि अस्थायी भवन निर्माणमा पनि समय खर्चियो, अहिले नयाँ भवन निर्माणका लागि काम सुरु भएको छ ।’

राक्सिराङ गाउँपालिकाले पनि निर्माण अघि बढाएको छ । जिल्लाको विकट क्षेत्र मानिने राक्सिराले दुई वर्षभित्र निर्माण हुनेगरी ६ करोड लागतमा १० शैय्याको अस्पताल निर्माण अघि बढाएको हो । राक्सिराङ–५ ठाडेभीरमा अस्पताल निर्माण भइरहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । जिल्लाको विकट क्षेत्र कैलाश गाउँपालिकाले पनि अस्पताल निर्माण गरिरहेको छ । गतवर्ष जेठमा ठेक्का सम्झौता गरेर असोजबाट कैलाशमा निर्माण सुरु गरिएको हो । कैलाश–३ कालिकाटारमा १० शैय्याको अस्पतालका लागि ५ करोड ९२ लाखमा ठेक्का सम्झौता गरिएको थियो । निर्माण सुरु भएयता १५ प्रतिशत काम भइसकेको कैलाशका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलगाईंले जानकारी दिए ।

नयाँ पत्रिकाबाट

यसमा तपाइको मत

Your email address will not be published.


*