इन्द्रसरोवरका किसानलाई अनुदानमा मकैको बीउ

अखबार हब
२०७८ चैत्र ११, शुक्रबार १७:४०

मकवानपुर । उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले किसानहरुलाई अनुदानमा मकैको बीउ निःशुल्क वितरण गरेको छ । गाउँपालिका भित्रका किसानहरुलाई ७५ प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरेको छ ।

गाउँपालिकाको कृषि विकास शाखाले कृषि क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यअनुसार नै सबै किसानहरुलाई मकैको बीउ अनुदानमा वितरण गरेको हो गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा देउती र मनकामना–३ जातका मकैको बीउ वितरण गरेको छ ।

मकै खेती सुरु हुनु अगावै गाउँपालिकाले कृषकहरुको सहजताको लागि सबै वडाहरुमा सहकारी, कृषक समूहमार्फत् किसानलाई बीउ वितरण गरेको ईन्द्र सरोबर गाउँपालिकाको कृषि प्राविधिक कुमार पौडेलले जानकारी दिए । गाउँपालिकाले देउती जातको मकैको बीउ ९ सय किलोग्राम र मनकामना–३ जातको मकैको बीउ ८ सय ९१ किलोग्राम वितरण गरेको जनाएको छ । किसानको मागको आधारमा नै बीउ खरिद गरी किसानलाई वितरण गरिएको कृषि प्राविधिक पौडेलले जानकारी दिए ।

यस्तै, गाउँपालिकाले कृषि उत्पादनलाई ध्यानमा राखेर २ सय २० जना किसानको माटो परीक्षण गरेको छ । माटो परीक्षण गर्दा माटोमा अम्लियको मात्रा बढी देखिएकोले किसानहरुको मागको आधारमा निःशुल्क कृषि चुन वितरण गरिएको छ । गाउँपालिकाले हालसम्म ३८ हजार किलो कृषि चुन निःशुल्क वितरण गरेको छ । यस्तै, ३५ हजार किलोग्राम कृषि चुन वितरणको तयारीमा रहेको कृषि प्राविधिक पौडेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*