श्रम गर्दै बालक, बालमैत्री पालिका घोषणा गर्दै मुख्यमन्त्री

अखबार हब
२०७८ चैत्र १३, आईतवार २१:३३

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई हिजो (शनिबार) मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालकै चौथो बालमैत्री गाँउपालिका घोषणा गर्दै थिए ।

सोही कार्यक्रममा एकतर्फ तामझामका साथ ठूला–ठूला साउण्ड सिस्टममा बालमैत्री, गाउँपालिकाको आवाज गुञ्जयममान थियो भने, अर्काेतर्फ ‘बदाम ३० रुपैँया माना’ भन्दै सानो स्वरमा आवाज आइरहेको थियो । चैतको रापिलो घाममा बदाम ३० रुपैया भन्ने अरु कोही नभएर स्थानीय बालबालिका नै थिए ।

रातो प्लाष्टिकको झोलाभरी बदाम अनि चैतको घाममा २ रुपैयाँ कमाई गर्ने उद्देश्यले छातामुनी पसिना बगाउँदै बसेको बालक दृश्य कारुणी थियो । तर, सो कारुणीक दृश्यतर्फ कसैको ध्यान गएन । सबको ध्यान त केवल नाचगान सहितको भव्य मञ्चमा थियो ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसारको सम्पूर्ण सुचकहरु पूरा भएर पालिकालाई बालमैत्री घोषण गरेको भन्दै मञ्चबाट भाषण गरिरहेका गाउँपालिका अध्यक्ष विदुर हुमागाईंलाई बालबालिकाको यो दृष्यले गिज्जाइ रहेको थियो ।

निर्देशिकाअनुसार ५ वर्षदेखि १४ वर्ष उमेर पुगेका सबै बालबालिकाले आधारभुत शिक्षा पूरा गरेको हुनुपर्ने प्रावधान छ, भने पालिकालाई बालश्रम अन्त्य गरी प्रभावित बालबालिकाको पुनस्र्थापना भएको हुनुपर्ने व्यवस्था रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*