हेटौंडामा मनाइयो ६५ औं राष्ट्रिय सहकारी दिवस
मकवानपुर । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मुलनाराका साथ हेटौंडामा ६५ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । राष्ट्रिय सहकारी दिवस, मुल समारोह समिति बागमती प्रदेशको आयोजनामा सहकारी दिवस मनाइएको हो ।
सहकारी दिवसको अवसरमा आईतबार होटौंडाको भुटनदेवी माविको चौरबाट र्याली सुरुगरी रोयल पार्टी प्यालेसमा गई सम्मान, पुरस्कार वितरण तथा समापन कार्यक्रममा परिणत भएको थियो ।
६५ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको सभाअध्यक्षता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिब बलराम निरौला, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख भरतमणी पाण्डेको बिशिष्ट आतिथ्यता रहेको थियो ।
त्यस्तै सहकारी महासंघका पूर्व सञ्चालक बद्री प्रसाद लम्साल, बागमती प्रदेश सहकारी विकास बोर्डको सदस्य शान्ति अधिकारी, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, मकवानपुर जिल्ला बहुउद्देश्यी सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
सहकारी दिवसकै अवसरमा विभिन्न सहकारी संस्था र सहकारीकर्मीलाई सम्मान गरिएको थियो ।
विगत ३० बर्षदेखि सहकारी अभियानमा सक्रिय हेटौंडाकाबद्री प्रसाद लम्साललाई सम्मान गरेको छ । त्यस्तै प्रदेशस्तरीय सहकारी दिवस मूल समारोह समितिले दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बाजा तथा भजन सहित सहभागिता जनाउने नारायणी वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हेटौंडा, युवा वचत तथा ऋण सहकारी संस्था हेटौंडा–२ र साना किसान कृषि सहकारी संस्था, मनहरी ८ लाई सम्मान गरिएको थियो ।
नेपालमा सहकारीको सुरुवात गर्ने बखान वहुद्देश्यीय सहकारी संस्था भरतपुर–१९, चितवनलाई सहकारी अभियानको ऐतिहासिक सम्मान गरएको थियो ।
सहकारी दिवसको अवसरमा गरिएको प्रभातफेरी कार्यक्रममा उत्कृष्ट सहभागिता जनाउने हेटौंडा–११ स्थित बागेश्वरी महिला बचत सहकारी संस्था लिमिटेडलाई प्रथम, हेटौंडा–१३ स्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वितीय, हेटौंडा–१२ स्थित महिला सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई तृतीय घोषणा गरी नगदसहित सम्मन गरिएको थियो ।
त्यस्तै सहकारी दिवसकै अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्नका लागि २० हजार रुपैयाँ प्रदान गरिएको थियो ।