मकवानपुरगढीमा जस्ले काँग्रेस बनाए, उनै अधिकारीलाई लगाइयो पाखा
मकवानपुर । मकवानपुरगढीमा गोपी अधिकारी भनेपछि नचिन्ने वृद्धवृद्धादेखि युवा पुस्ता कमै होलान् । फागुन २०१७ मा बुढीचौरमा जन्मिएका अधिकारी मकवानपुरगढीको नेपाली कांग्रेसका संस्थापक नेता हुन् ।
कुनैबला कमल थापाको रजगज चल्दापनि अधिकारी मकवानपुरगढीमा कांग्रेस पार्टी निर्माणका लागि लागिरहन्थे । माओवादी सशस्त्र द्वन्द्वको अवस्थामा गाउँमा कांग्रेस भन्न डराउने परिस्थिति हुँदा आफू पार्टीको तीन वटा जिम्मेवारी लिएर अगाडि बढेको उनी सुनाउँछन् । त्यतिबेला माओवादीको डरले पार्टीको जिम्मेवारी लिन कसैले नमानेको अधिकारीले सम्झिए ।
तर, उनै अधिकारी अहिले मन गह्रौँगो बनाएर बसिरहेका छन् । उनी मकवानपुरगढी गाउँपालिका अध्यक्षमा कांग्रेसबाट आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा आकांक्षी थिए । यो वर्षमात्र नभई गत निर्वाचन पनि उनी अध्यक्षकै आकांक्षी थिए । त्यतिबेला अधिकारी ‘रिंग’ आउट भए । पार्टीले योगदान भुलेर आफूमाथि अपराध गरेको अधिकारी गुनासो गर्छन ।
२०३६ ताका भएको जनसंग्रहबाट अधिकारीलाई राजनीतिमा चासो लाग्यो । राजनीतिक जीवन कांग्रेसबाटै सुरु भएर कांग्रेसमै रहिरहने उनको चाहना अझै जिवित छ । २०३५ सालमा बुढीचौरबाट तत्कालीन गढी गाविसमा बसाईं सरे अधिकारी ।
२०४१–४२–४३ साल ताका चितवनमै रहेर राजनीतिमा सक्रिय भए, उनी । बिपि कोइरालाको जेल जर्नल र आत्मवृतान्त पढेपछि कांग्रेसप्रति चाख बढेको उनले सुनाए । आफूलाई पार्टीको साधारण सदस्य कसैले नबनाएको भन्दै देशमा बहुदल स्थापना पछि एकै पटक सक्रिय सदस्य लिएको बताउ । बहुदलपछि कांग्रेस मकवानपुरका सभापति सुर्जेबहादुर डिम्डुङसँग नजिक भएर राजनीतिक जीवनलाई सक्रिय बनाएको उनको भनाई छ ।
आफूलाई कांग्रेसको साधारण सदस्य बनाउने मान्छे मकवानपुरमा नरहेको उनले बताए । यसअर्थमा अधिकारी मकवानपुरमै कांग्रेसका सबैभन्दा सिनियर नेता हुन् । बहुदलअघि मकवानपुरगढीमा कांग्रेसका ३६ जना मात्रै सक्रिय सदस्य रहेको अधिकारी बताउँछन् । बहुदलपछि त्यो घटेर १३ जनामा आइपुगेपछि पार्टी जिल्ला समितिले ‘हाइज्याक’ गरेर नारायण लम्साललाई संयोजक तोकेर आफूलाई पार्टी सभापति बनाउँदै जिम्मेवारी दिएको उनले सम्झिए ।
त्यति बेला १ जनाको घरबाट पार्टी चलाउने गरेको उनको भनाई छ । आफू ७ वर्ष सभापति हुँदा मकवानपुरगढीमा कांग्रेस बनाएको अधिकारीले जानकारी दिए । मकवानपुरगढीमा कांग्रेसको राजनीतिक मुद्दा लिएर आफू एक्लै लडेर हिँडेको उनी बताउँछन् । आफू कांग्रेस बनाउन मकवानपुरगढीमा हिँडेको कुरा जिल्लाका प्रतिपक्ष दलकादेखि कांग्रेसकै नेताहरुलाई प्रष्ट थाहा भएको उनको जिकिर छ ।
बहुदलपछि हालको मकवानपुरगढी गाउँपालिकाको ८ नम्बर वडास्थित साविकको बुढीचौर गाविस, ७ नम्बर वडाको सुकौरा गाविसमा राप्रपा बलियो थियो । तत्कालीन आमभञ्ज्याङ र मकवानपुरगढी गाविसमा नेकपा एमालेको राम्रो रहेको अधिकारीले बताए । त्यति बेला कांग्रेस तेस्रो स्थानमा रहेको उनले बताए । हालको गाउँपालिका केन्द्र भएका वडाहरुमा पनि कांग्रेस कमजोर रहेको उनी बताउँछन् ।
बुढीचौरबाट ३ नम्बर वडामा आएपछि कांग्रेस पार्टी बनाएका अधिकारीले पार्टीबाट अबसर लिन बञ्चित हुनुपरेकोमा दुःख व्यक्त गरे । नेपाली कांग्रेस मकवानपुरगढी गाउँसमितिले गाउँपालिका अध्यक्षमा गोपी अधिकारीसहित यतिराज सापकोटा, दोर्जे लामा स्याङ्तान र बलराम घिमिरेको नाम जिल्ला समितिमा सिफारिस गरेको थियो । कांग्रेसबाट अध्यक्षमा अधिकारीले बलियो लबिङ गरेका थिए ।
अध्यक्षमा आकांक्षा राखेपछि पार्टीले योगदानको कदर नगरेको अधिकारीले गुनासो गरे । पार्टीले टिकट दिँदा ठूलो नाटक मञ्चन भएको उनको आरोप छ । पार्टीले दोर्जे लामा स्याङ्तानलाई उम्मेदवार बनाउँदा ठिकै भएको भन्दै अधिकारीले भने, ‘दोर्जे सरले टिकट पाउँदा म बेठिक चाँही भन्दिन ।,’ पार्टी बनाउने मान्छेको योगदान नहेरी अबसर दिने कुरामा धेरै छुच्याईँ र बेइमानी गरेको उनी बताउँछन् ।
‘पार्टीले योगदानको कदर गरेन । अबसरवादी खेल खेल्यो ।,’ उनले भने । पार्टीले हलि, गोठाला बनाएर आफूले भन्ने मान्छे मात्रै नारेको अधिकारीले गुनासो गरे । आकांक्षीहरुलाई राखेर सल्लाह नै नगरेको भन्दै पार्टीप्रति उनले दुःखेसो पोखे । आफूलाई ८ वटै वडाबाट अध्यक्ष उम्मेदवारका लागि समर्थन भएको उनको दावी छ ।
कांग्रेसले गठबन्धन गरेको विषयमापनि अधिकारी सन्तुष्ट छैनन् । कांग्रेसले आफ्नो खुट्टामा आफैंले बञ्चरो हानेको उनले प्रतिक्रिया दिए । आफूलाई कांग्रेसले अपराध गरेको उनको भनाई छ । गत निर्वाचनमा उम्मेदवार छनौट, प्राप्त मतपरिणाम र मतदाताको आकंक्षालाई नजरअन्दाज नगर्न अधिकारीले पार्टीलाई ध्यानाकर्षण गराउँदै आएका थिए । तर, उनै अधिकारी पाखा लागेका छन् ।
अधिकारीले पार्टीबाट उम्मेदवारको नाम टुंगिनु अघि एउटा लेख लेख्दै पार्टीलाई ध्यानाकर्षणपनि गराएका थिए । काँग्रेस नेतृत्व पछिल्लो समय आफ्नो नीति र सिद्धान्तबाट विचलित भएको उनको आरोप थियो । पार्टी नीति, सिद्धान्तबाट सामूहिक रुपमा चल्नुपर्नेमा व्यक्तिवादमा चल्ने अभ्यास मौलाउँदै गएको उनको भनाई छ । यो अभ्यास काँग्रेसका लागि ठूलो समस्या बन्ने उनी बताउँछन् ।
‘यसअघि बुथ प्रतिनिधि छनौटदेखि वडा, जिल्लामा भएका अधिवेशनमा जस्तै निष्ठा, योगदान, इमान्दरिता, लगानी भएकाहरुलाई अघि बढाइन्छ कि पैसा, पावर भएर नेतृत्वको वरिपरी घुम्नेलाई उभ्याइन्छ हेर्न बाँकी छ ।,’ अधिकारीले लेखमा भनेका थिए ।
‘जीवनमा युवाचेत देखि अहिलेसम्मको उमेर गढीमा काँग्रेसको बिउ रोप्न, मल हाल्न, पानी हाल्नमै खर्च गरेर अहिले हराभरा बनाउनेमा मेरो पनि पसिना र समय बगेको छ ।,’ अधिकारीले भनेका छन् । ‘अघिल्लो पटक जस्तै मेहनत गर्ने एउटा र फल खाने समयमा अर्को पात्र ल्याउने कुरामा मेरो पूर्ण असहमति छ ।,’ उनले थपे । ढोका थुनेर मेरो लगानी, मेहनत, निष्ठा र इमान्दारितालाई पैसा र पहुँचले रोक्ने, छेक्ने प्रयास नगर्न उनले नेतृत्वलाई सजग गराएका थिए । तर, अधिकारीको ध्यानाकर्षणलाई पार्टी नेतृत्वले वेवास्ता गर्यो र अधिकारी दुवै पटक पाखा लागे ।
(गोपी अधिकारीसँगको कुराकानीमा आधारित)