क्षितिज सहकारीको सम्पतीमा अध्यक्ष भण्डारीको रजाई
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर १ स्थित क्षितिज दुग्ध उत्पादक सहकारीको एक पछि अर्को अनियमिता बाहिर आएको छ । दूध जाँच गर्ने मेसिन बिगारेर किसान ठग्दै आएको सहकारीले फेरी अर्को मनोमानी काम गरेको पाइएको छ ।
बिना कुनै सहमति सहकारीका अध्यक्ष देवराज भण्डारीको आफ्नो व्यक्तिगत निर्णयमा सहकारीको दुई ओटा कोठा व्यवसायीलाई व्यवसाय गर्न अनुमति दिइएको पाइएको हो ।
सहकारी सञ्चालक समितिका कोषाध्यक्षसमेत रहेका सोमनाथ खनाललाई दाना व्यवसाय गर्न र आशिष थापालाई भेटेनरी सञ्चालन गर्न भण्डारीको एकल निर्णयमा अनुमति दिइएको पाइएको हो ।
दाना व्यवासयी खनालले ३ वर्षदेखि र भेटेनरी सञ्चालक थापाले विगत ४ महिनादेखि सहकारीको भवनमा बिना कुनै सम्झौता अध्यक्षको एकल मौखिक सहमतिको भरमा आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन् । भने उनीहरुले भवन प्रयोग गरेबापत अहिलेसम्म कुनैपनि रकम नबुझाएको पाइएको छ । यता सञ्चालक समितिले उनीहरुसँग भाडा असुल गर्न समेत आनाकानी गरेको पाइएको हो ।
किसानले सहकारीको अनियमितताको बारेमा पटकपटक झक्झकाउने गरेपनि संचालक समितिले कुनैपनि चासो नदिएको किसानहरुको गुनासो छ । सहकारीले नै दाना र भेटनरी व्यवसाय गरेर उचित मुल्यमा किसानहरुलाई विक्री वितरण गर्नुपर्ने किसानहरुको भनाई रहेको छ ।
किसानहरुको हक हित र सहजताको लागि व्यवसायीलाई बिना सर्त सहकारीको भवन प्रयोग गर्न दिएको अध्यक्ष भण्डारीले बताए । भवनको कोठा भाडामा दिने विषयमा बैठकमा छलफल भएको तर कुनैपनि लिखित निणर्य भने नभएको उनको भनाइ छ ।