बागमतीको कृषि मन्त्रालयः चार वर्षमा पनि बनेनन् शीतभण्डार
मकवानपुर / वाग्मती प्रदेश सरकारले निर्माण सुरु गरेको सम्पूर्ण शीतभण्डार अलपत्र परेका छन् । तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण सुरु गरेको १० वटै शीतभण्डार अलपत्र परेका हुन् । प्रदेशले १३ वटै जिल्लामा कृषि उत्पादनलाई बेमौसममा बिक्रीवितरण गर्न भण्डारणका लागि शीतभण्डार निर्माण सुरु गरेको थियो । निर्माण कार्य प्रारम्भ भएको ४ वर्ष बितिसक्दा नौवटा पूर्णरूपमा अलपत्र र एउटा निर्माण सम्पन्न भए पनि हस्तान्तरण हुन बाँकी छ ।
सहकारी संस्था तथा निजी क्षेत्रसँगको साझेदारीमा मन्त्रालयले शीतभण्डार निर्माणको काम अघि बढाएको थियो । प्रदेश सरकारले सहकारी निजी सहकार्यमा कुल लागतको निश्चित प्रतिशत रकम व्यहोर्ने गरी शीतभण्डार निर्माणको सम्झौता गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलका अनुसार सरकारले ९७ करोड ८३ लाख ६३ हजार रुपैयाँ लागतमा प्रदेशका १० वटा शीतभण्डार निर्माण सुरु गरेको हो ।
मन्त्रालयले १० वटै शीतभण्डार निर्माणबापत् ६५ करोड ४८ लाख ६० हजार रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी दिइसकेको छ । चितवनको खैरहनी–६, धादिङको बेनीघाट रोराङ्ग–७, रसुवाको कालिका–२, सिन्धुलीको सुनकोसी–५, सिन्धुपाल्चोकको लिसंखुपाखर–७ र इन्द्रावती, दोलखाको जिरी–५, रामेछापको मन्थली, नुवाकोटको विदुर–५ र बेलकोटगढी–१० मा शीतभण्डार निर्माणाधीन अवस्थामा छ । प्रदेशले २०७५ सालमा शीतभण्डार निर्माणका लागि डीपीआर तयार पारेर ठेक्का आह्वान गरेको थियो । ठेक्का आह्वान गरेको करिब ६ महिनापछि प्रदेश सरकारले शीतभण्डार निर्माणको शिलान्यास गरेको थियो ।
प्रदेश सरकारले अधिकांश शीतभण्डारको निर्माणका लागि २ वर्षको समय अवधि दिएर ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७८ मा नै हस्तान्तरण हुनुपर्ने थियो । मन्त्रालयले नुवाकोटको विदुर–५ र बेलकोटगढी–१० मा ५ हजार मेट्रिक टन क्षमताका शीतभण्डार निर्माणका लागि ५० प्रतिशत र साझेदार संस्था र निजी कम्पनीको ५० प्रतिशत लगानी गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । विदुरमा कुल १९ करोड ८५ लाख ८१ हजार रुपैयाँ र बेलकोटगढीमा २० करोड ३९ लाख ६८ हजार रुपैयाँ लागतमा शीतभण्डार निर्माण ठेक्का सम्झौता भएको थियो । हालसम्म दुवै अधुरा छन् । दुवै शीतभण्डारको ६० प्रतिशत मात्र भौतिक प्रगति रहेको मन्त्रालयले जनाएको छ । हालसम्म बेलकोटगढीमा मन्त्रालयले १० करोड ८१ लाख ८६ हजार रुपैयाँ र विदुरमा १० करोड १७ लाख ३२ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ ।
मन्त्रालयका अनुसार खैरहनी–६ मा साना किसान कृषि सहकारी संस्थासँगको साझेदारीमा २०७५ साल चैत १३ मा शीतभण्डार निर्माण सम्झौता गरेर काम सुरु गरेकोमा हालसम्म करिब ९५ प्रतिशत सम्पन्न भएको छ । १५ सय मेट्रिक टन क्षमताको यस शीतभण्डार निर्माणका लागि १२ करोड ९४ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो । हालसम्म ११ करोड ५२ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । बेनीघाट रोराङमा १५ सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्थासँग साझेदारी भएको छ । मन्त्रालयले १२ करोड ८३ लाख ७० हजार रुपैयाँ लागतमा सम्झौता गरेकोमा हालसम्म १० करोड ९८ लाख ६४ हजार रुपैयाँ भुक्तानी दिएको छ । हालसम्म ९५ प्रतिशत काम सकिएको दाबी गरिएको छ ।
सिन्धुपाल्चोककै इन्द्रावतीमा पोखरे साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५ सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गर्न ५ करोड ३५ लाख ४९ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको हो । हालसम्म ७० प्रतिशत मात्र भौतिक संरचना निर्माण भएको र करिब ४ करोड ८९ लाख रुपैयाँ भुक्तानी भएको छ । रामेछापको मन्थली–५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि कुल ५ करोड ३० लाख ९५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । हालसम्म यस शीतभण्डारको ७० प्रतिशत भौतिक प्रगति भएको र ४ करोड ८२ लाख ३८ हजार रुपैयाँ भुक्तानी मन्त्रालयले गरेको छ ।
सिन्धुलीको सुनकोसी–५ मा मुकुटेश्वर बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५ सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको छ । शीतभण्डारको प्राविधिक काम अझै बाँकी छ । मन्त्रालयले कुल ५ करोड ३० लाख ८० हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएकोमा ४ करोड ७९ लाख ९७ हजार रुपैयाँ भुक्तानी दिएको छ । सिन्धुपाल्चोकको लिसंखुपाखर–७ मा गोल्मुथान कृषि सहकारीसँगको साझेदारीमा शीतभण्डार निर्माणको ठेक्का सम्झौता भएको थियो । ५ सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि कुल ५ करोड ३५ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएर निर्माण कार्य सुरु भएको थियो । हालसम्म ४५ प्रतिशत काम सकिएको र २ करोड ८ लाख ८७ हजार रुपैयाँ भुक्तानी भएको मन्त्रालयले जनाएको छ ।
दोलखाको जिरी नगरपालिका र जिरी कृषि सहकारी संस्थासँगको साझेदारीमा ५ करोड ३७ लाख रुपैया लागतमा ५ सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण सुरु भए पनि हालसम्म ५० प्रतिशत मात्र काम सकिएको छ । २ करोड १९ लाख रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ ।
रसुवाको कालिका गाउँपालिकामा साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ३ सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणको काम अझै जारी छ । ३ करोड ७० लाख रुपैयाँ लागतमा निर्माण सम्झौता भएको शीतभण्डारको भौतिक संरचना निर्माणको काम सकिए पनि मेसिन जडान बाँकी नै छ । मन्त्रायलले हालसम्म ३ करोड १८ लाख ६७ हजार रुपैयाँ भुक्तानी भएको जनाएको छ । कान्तिपुरबाट ।