बागमती प्रदेशका कर्मचारीको व्यक्तिगत विवरण राख्न सुरु
मकवानपुर । बागमती प्रदेशमा प्रदेश लोकसेवा आयोगबाट नियुक्त कर्मचारीहरुको वैयक्तिक विवरण (पिआईएस) राख्ने कार्यको शुरुवात भएको छ ।
बिहिबार मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश तहमा नियुक्त ९ जना कर्मचारीहरूलाई पिआईएस वितरणको एकप्रति सम्बन्धित कर्मचारीलाई हस्तान्तरण गरेर पीआईएस राख्ने कार्यको शुरुवात गरेका हुन्।
नेपालको संविधान अनुसार स्थापित प्रदेश र प्रदेशभित्रका स्थानीय तहमा नियुक्त वा बढुवा हुने कर्मचारीहरूको व्यवस्थित अभिलेख राख्न प्रदेश किताबखाना सञ्चालन रहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय किताबखाना निजामती बीच भएको छलफल पश्चात प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई नियुक्त भएका प्रदेश र स्थानीय सेवाका कर्मचारीहरूको पिआईएस उपलब्ध गराउन राष्ट्रिय किताबखाना (निजमती) सँग मिति गत वैशाख २० गते सम्झदारी भई प्रादेशिक पोर्टल हस्तान्तरण भएको थियो ।