निजगढ नगरपालिकाको बेथिति  : आवश्यकता बेगर कर्मचारी भर्ना, काम नै नगरी रकम भुक्तानी

अखबार हब
२०८० असार ६, बुधबार १४:२२

बारा । बाराको निजगढ नगरपालिकाले आवश्यकता बेगर कर्मचारी भर्ना गरेको पाइएको छ । नगरपालिकालाई करारबाट लिन आवश्यक कर्मचारीको दरबन्दी प्रस्तावनै नगरी हचुवाको भरमा आवश्यकता बेगर कर्मचारी भर्ना गरेको हो ।

३७ जना स्थायी कर्मचारी कार्यरत पालिकामा प्राविधिक तथा अन्य कर्मचारी समेत गरि ५८ जना करारमा भर्ना गर्दा राज्यलाई थप वार्षिक १ करोड २५ लाख ७४ हजार भार थपिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था रहेको कुरा प्रतिवेदनमा उल्लेख छ । स्वीकृत दरबन्दी अनुसार स्थायी कर्मचारी माग गर्न र आवश्यकता बेगर करारमा कर्मचारी भर्ना नगर्न महालेखाले पालिकालाई सुझाब दिएको छ ।

यस्तो छ महालेखाको प्रतिवेदन ।

काम नै नगरी ७ लाख ५० हजार भुक्तानी !

त्यसै गरि पालिकाले काम नै नगरेको प्राइभेट फर्मलाई काम भएको भन्दै ७ लाख ५० हजार भुक्तानी गरेको छ ।

निजगढ क्रियशन स्टुडियोले फोटो तथा भिडियो निर्माण गरेको उल्लेख गरि पटक –पटक गरि ३ पटक पेश गरेको ३८ थान हस्तलिखित पान बिलको आधारमा नगरपालिकाबाट ७ लाख ५० हजार रुपैयाँ भुक्तानी लिएको हो ।

स्टुडियोले खर्च पुष्टि गर्ने कुनै पनि श्रेष्ता, फोटो तथा भिडियोको विवरण लगायतको प्रमाण विना टुक्रा बिलको आधारमा सोझै रकम भुक्तानी गरिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । सार्वाजनिक खरिद नियमावली अनुसार बीस हजार भन्दा बढीको कारोबारमा भ्याट बिल प्रयोग गर्नु पर्ने व्यवस्था रहेको छ ।  

यस्तो छ महालेखाको प्रतिवेदन ।

यसमा तपाइको मत

Your email address will not be published.


*