गाँजाको विकल्पमा कफी खेती

मकवानपुर । लागुऔषध गाँजा र अफिमको अवैध खेती हुँदै आएको मकवानपुरको राक्सिराङ गाउँपालिकामा अफिम र गाँजाखेतीलाई निरुत्साहित गर्न कफीका बिरुवा रोपिएको छ।
त्यहाँका किसानलाई कफी खेतीतर्फ आकर्षित गर्न बुधबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको पहलमा कफीका बिरुवा रोपेर गाँजाखेती निरुत्साहित अभियानको थालनी गरिएको हो। प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाको अगुवाइमा राक्सिराङको वडा नम्बर ५ को बोटबरी, डाँडेचुरे र बुफुमलगायतका स्थानमा करिब १५०० कफीका बिरुवाहरू रोपिएको हो।
यस्तै, त्यहाँका २५० किसानका लागि थप १३ हजार ५०० वटा कफीका बिरुवा वितरण गरिएको छ। चितवनको राप्ती नगरपालिका वडा नम्बर २ का धनबहादुर मास्केको मास्के मल्टिप्रपोज एग्रिकल्चर एन्ड रिसर्च सेन्टरसँगको सहकार्यमा कफीका बिरुवा रोप्ने र वितरण गर्ने काम भएको प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राणाले बताइन्।
चेतनाको अभावका कारण यहाँका स्थानीयले विगतदेखि गर्दै आएका अवैधानिक गाँजाखेतीको विकल्पको रूपमा कफीखेतीको थालनी गरिएको उनको भनाइ छ। ‘दीर्घकालीन उत्पादन दिने र नागरिकहरूको आर्थिक उपार्जनमा निकै सहयोगी हुने भएकाले कफीखेतीलाई प्रोत्साहन गर्न खोजेका हौँ,’ उनले भनिन्।
भौगोलिक हिसाबले विकट मकवानपुरको राक्सिराङ गाउँपालिकाको अधिकांश क्षेत्रमा अवैध रूपमा गाँजा र अफिम खेती हुने गरेको छ। भिरालो जमिनमा सिँचाइको असुविधाका कारण सो क्षेत्रको केही स्थानमा रैथाने बाली उत्पादन भए पनि अधिकांश स्थानमा अवैध मानिएको गाँजा र अफिम खेती हुने गरेको छ।
उक्त अवसरमा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पालिकाले गाँजाखेतीको विकल्प खोजिरहेको अवस्थामा कफीखेती यसको राम्रो विकल्प हुन सक्ने बताए। कफीखेतीको लागि पालिकाले मल र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।
यसअघि पनि गत बिहीबार बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाको नेतृत्वमा चितवनको परेवाडाँडा पुगेर प्रहरीले कफीका बिरुवा रोपेका थिए। उक्त स्थानका १५० घरपरिवारमध्ये झन्डै सय परिवारले ३ हजार कफीका बिरुवा रोपेका थिए।