पशुपति आधारभुत विद्यालयकी प्रधानाध्यापक जो विद्यालयमा कम ल फर्ममा ज्यादा भेटिन्छन्
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१२ मा अवस्थीत पशुपति आधारभुत विद्यालयकी प्रधानाध्यापक रमाकुमारी चौलागाईं विद्यालयमा कम आफ्नो निजी ल फर्म(सक्षम ल फर्म)मा ज्यादा भेटिन्छन् ।
हेटौंडा बजारबाट करिब ४ किलोमीटरको दुरीमा रहेको उक्त विद्यालयमा प्रअको जिम्मेवारी सम्हाल्न छाडेर उनी हेटौंडाको मानस चोकमा रहेको निजी ल फर्ममा व्यस्त हुन्छीन् । शिक्षकसँगै अधिवत्तासमेत रहेकी चौलागाईं सरकारी सेवा सुविधा उपभोग गरि काम भने आफ्नो निजी ल फर्ममा गर्ने गरेको पाइएको हो ।
अखबारहवको टिम विषेश सूचनाको आधारमा असार २८,२९ र ३१ गते लगातार उनले अध्यापन गराउने विद्यालयमा पुग्दा उनी विद्यालयमा भेटिनन् । सो अवधिमा उनले विदाको समेत जानकारी नगराएको विद्यालय स्रोतले जनाएको छ । तर, चौलागाईंले हाजिर रजिष्टर आफ्नो निजी कार्यालयमा झिकाई २८ र २९ गतेको एकै दिन हाजिर गरेको स्रोतले जनाएको छ । विद्यालय स्रोतका अनुसार उनले महिनाको हाजिरसमेत निजी कार्यलयमा रजिष्टर झिकाएर एकै पटक गर्ने गरेको पाइएको छ ।
असार ३१ मा हामीले उनकै विद्यालय बाट फोन सम्पर्क गर्दा उनले शिक्षकको तलब निकासा गर्न बैङ्क गएको र बैंकमा भिड देखेसँगै अर्का सोही विद्यालयकी शिक्षिका सावित्री अधिकारीलाई जिम्मा लगाएर आफू ल फर्ममा गएको बताइन् । सोही दिन विद्यालय पुगेर कार्यालयको कामले बाहिर निस्केको बताए पनि उक्त दिनमा भने उनी विद्यालयमा हाजिरी भएको देखिदैन् ।
त्यसैगरि विद्यालयमा असार २४ गते देखि २७ गते सम्म नागरिक लगानी कोष र विमा अफिस काठमाडौंमा कामको लागि जान भन्दै उनले बिदा लिएकी थिइन्, तर उनी असार २० गते नै हेटौंडाबाट ९ जना अधिवत्ताको टोलीसहित टाटासुमो रिर्जाब गरेर काठमाडौंमा असार २१ गतेबाट सञ्चालन भएको ८ दिवसीय ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिममा सहभागि हुन काठमाडौं गएको पाइएको छ । काठमाडौंको नयाँबानेश्वर स्थित इन्द्रेणी सुइट होटलमा सञ्चालन भएको उक्त तालिममा उनी ८ दिन उपस्थित भएकी छिन् ।
तालिममा मकवानपुरसहित काठमाडौं, भक्तपुर, ललितपुरका गरि २९ जना अधिवक्ताहरुको सहभागी रहेको थियो । काठमाडौंको तालिममा सहभागि रहेको दिन (विदा बाहेक) असार २०,२१ र २२ मा समेत उनको विद्यालय हाजिर रजिष्टरमा उपस्थिति रहेको पाइएको छ । काठमाडौंमा रहेर पनि विद्यालयमा हाजिर देखिदा उनले महिना भरको हाजिर र विदा एकै पटक असार २९ गते नै लेखेको प्रष्ट भएको छ ।
यस विषयमा हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमाललाई सोध्दा आफूहरु अनुगमनमा जादाँ सधै भेट्ने गरेको जवाफ दिएका छन् । ‘हामी विद्यालय अनुगमणमा जादाँ उक्त विद्यालयकी प्रअ विद्यालयमा उपस्थित नरहेको भन्ने प्रर्याप्त प्रमाण भेटेका छैनौं ।’ उनले भने । कारवाही गर्नै परे कारवाहीको अधिकार शिक्षा विकास तथा समन्वय इकाइसँग भएको भन्दै उनी पन्छीन् खोजे ।
यता शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख दिनानाथ गौतमले भने उक्त विद्यालयकी प्रअ चौलागाईंले साउन ४ गते शिक्षण पेसाबाट राजिनामा बुझाएको बताए । राजिनामा भदौ ३ गते बाट लागुहुने गरि सोहि दिन स्वीकृत गरेको गौतमले बताए ।
‘शिक्षा नियमावली २०७४ अनुसार २३ वटा अधिकार नगरपालिकालाई दिएका छौँ, हामी नगरपालिकाको अधिकार खोस्न चाहदैनौं तर उसले हात उठाएको खण्डमा गलत गर्ने शिक्षकलाई कारवार्ही गर्न तयार छौं ।’ उनले भने ।
कक्षा ५ सम्म अध्यापन गराइने उक्त विद्यालयमा कार्यालय सहयोगीसहित ८ जना कार्यरत छन् । जसमा स्थायी ५ जना, राहात १ जना र बालविकास तर्फ १ र १ कार्यलय सहयोगि कार्यरत छन् । प्रअ बाहेकका शिक्षकले विद्यालयमा नियमीत रुपमा २०÷२२ जना विद्यालयलाई अध्यापन गराइरहेको विद्यालयीकी शिक्षक अधिकारीले बताइन् ।