चित्लाङमा पच्चिस शैय्याको अस्पताल निर्माण हुने

अखबार हब
२०८० श्रावण १२, शुक्रबार १४:०६

मकवानपुर । उत्तरी मकवानपुरको चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय परिसरमा २५ शैय्या अस्पताल निर्माणको प्रस्ताव रहेको छ । विश्वविद्यालयको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी समेत भएको छ । प्रस्ताव पारित भएपश्चात् अस्पताल निर्माणको समेत बाटो खुल्नेछ ।

विश्व विद्यालयको प्रस्तावित आयोजनामा अस्पतालसहित शैक्षिक भवन, कम्युनल भवन, ६ सय ७ कर्मचारीका लागि आवास, ४० कोठाको अतिथि भवन, विद्यालय र सडक निर्माण हुने छ । प्रतिवेदन अनुसार आयोजना क्षेत्रमा, खानेपानी आपूर्ति तथा ढल निकास, बिजुली आपूर्ति, विद्युत् र सञ्चार सञ्जाल रहने छन् ।

आयोजना निर्माणपछि स्थानीयस्तरमा अधिक रूपमा सकारात्मक प्रभाव पर्ने देखिएको छ । प्रस्तावित आयोजना पूरा भएपछि दक्षता, सिप र क्षमता अनुसार रोजगारी सिर्जना, पहुँच सडक, विद्यमान सडकको स्तरोन्नति’सुधार हुने विश्वास गरिएको छ । यस्तै स्थानीय आर्थिक गतिविधिमा वृद्धि र स्थानीय सरकारलाई राजस्व संकलनको अवसर मिल्ने छ ।

विश्वविद्यालयमा आवश्यक पर्ने पानीका लागि आकासे पानी संकलन र जमिनमुनिको पानीमा निर्भर हुने, विश्वविद्यालयबाट निस्कने मलमूत्रबाट बायोग्यास निकाल्ने, फोहोर पानी प्रशोधन गर्ने तथा पाँच सय किलोवाटको सौर्य ऊर्जा र छ सय किलोवाटको पम्प स्टोरेज प्लान्ट स्थापना गरिने भएको छ ।

यो आयोजनाको कुल वातावरणीय व्यवस्थापन लागत एक करोड २४ लाख ६५ हजार रुपियाँ रहेको प्रतिवेदनमा उल्लेख छ। प्रस्तावित आयोजनालाई आवश्यक ५०।५२ हेक्टर जमिनमा हाल घाँसे मैदान, नास्पाती खेती तथा वन रहेकोमा आयोजनाको निर्माणसँगसँगै उक्त जमिन भवनमा परिणत हुने छ । इआइए प्रतिवेदनका लागि आएका सुझावहरूसहित प्रतिवेदनलाई थपघट गरी अन्तिम रूप दिने विश्वविद्यालयका कन्सल्टेन्ट सञ्जयनाथ खनालले बताए ।

थाहा नगरपालिका वडा नम्बर ९ को चित्लाङमा विश्वविद्यालयको भौतिक संरचना निर्माणाधीन छ । यस आयोजनाको निर्माण लागत ३७६ मिलियन अमेरिकी डलर अर्थात् ४९ अर्ब रुपियाँभन्दा बढी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*