हेटौंडा अस्पतालमा नौ महिनामा ५९ सर्पदंशका विरामी
मकवानपुर । हेटौंडा अस्पतालमा पछिल्लो नौ महिनामा ५९ जना सर्पदंशको उपचारका लागि विरामी भर्ना भएका छन् । भर्ना भएका विरामी मध्य एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा गत वर्षको कात्तिकदेखि साउन मसान्तसम्ममा ३० जना पुरुष र २९ जना महिला उपचारका लागि अस्पताल आएका नर्स ईशा देवकोटाले जानकारी दिइन् । भर्ना भएका विरामी मध्ये असार महिनामा सबै भन्दा बढी २३ जना सर्पको डसाइपछि उपचारका लागि अस्पताल आएका थिए ।
मकवानपुरको मकवानपुरगढी, मनहरी, बकैया, भीमफेदी र राक्सिराङ तथा हेटौँडा उपमहानगरपालिकाका साथै सिन्धुलीबाट सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका उनले बताइन् । ‘खेतीपातीको काममा जाँदा सर्पले डसेको भनेर धेरै बिरामी अस्पताल आउनुहुन्छ । हालसम्म दुई जनालाई मात्रै ‘एन्टी स्नेक भेनम’ चलाएका छौँ,’ उनले भने ।
सर्पले टोकेका बिरामीमा १६ देखि ७० वर्ष उमेर समूहका व्यक्ति धेरै रहेका अस्पतालको तथ्याङ्क छ । हेटौँडा अस्पतालका एनेस्थेसिया डा. प्रशान्त बिडारीले गोमन, करेत र पिट भाइपर हरियो सर्पले डसेका बिरामी उपचारका लागि आएका आउने गरेको बताए ।