मानसिक रोगी सुनाले आफैंलाई जलाइन, उपचारका लागि लैजादा बाटोमै मृत्यु

अखबार हब
२०८० भाद्र ११, सोमबार १२:०५

काठमाडौं । दार्चुलामा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ ।

आइतबार घरमा कोही नभएको बेला शरीरमा प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाएकी शैल्यशिखर नगरपालिका–५ सेतकलाकी ४५ वर्षीया सुना साउदको उपचारको क्रममा धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

शैल्यशिखर नगरपालिका–५ का वडाध्यक्ष जनक सिंहका अनुसार मृतक सुना लामो समयबाट मानसिक रोगी थिइन् ।

आइतबार सुनाको नियमित खाने औषधि सकिएकाले उनको श्रीमान स्वास्थ्य चौकी औषधि लिनका लागि उनलाई एक्लै घरमा छोडेर गएको बेला पारेर उनले आत्मदाहको प्रयास गरेको सिंहको भनाइ छ ।

उनले भने, ‘उहाँको श्रीमानले दिएको जानकारी अनुसार, उहाँ १३ वर्ष पहिलाबाटै मानसिक रुपमा अस्वस्थ भएर औषधि सेवन गर्दै आउनुभएको रहेछ । हिजो उहाँको औषधि सकिएकोले श्रीमान औषधि लिन स्वास्थ्य चौकी गएका रहेछन्,सोही समयमा घरमा कोही नभएको अवस्थामा उहाँले घरायसी प्रयोजनको लागि राखिएको प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाउनुभएछ । घाइते उहाँलाई गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटनमै मृत्यु भयो।’
साउदको ८० प्रतिशत शरीर जलिसकेको बताइएको छ ।

सिंहका अनुसार उनको तीन छोरी र एक छोरा छन् । छोरा बुहारी सँगै श्रीमान् श्रीमती बस्ने गरेको भएपनि बुहारी बाहिर गएको र छोरा पनि कामको सिलसिलामा भारतमा गएका छन् । घट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*