गृहमन्त्रीको राजिनामाको माग गर्दै १५ हजारले गरे हस्ताक्षर

अखबार हब
२०८० पुष १७, मंगलवार २०:२३

मकवानपुर । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेश द्रुत कार्य टोलि(र्याट)ले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाएको छ ।

गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनामा गृहमन्त्रीले सम्यमता गुमाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेश र्याटले मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई मार्फत प्रधानमन्त्रीलाई संकलित १५ हजार हस्ताक्षर बुझाएको हो ।

कोरियन भाषा परिक्षाको आवेदन दिन नपाएको भन्दै बालकुमारीमा भएको प्रदर्शनमा २ युवको मृत्यु भएको घटनालाई लिएर र्याट बागमती प्रदेश र पार्टी मकवानपुर जिल्ला समितिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

‘सरकार जनताको अभिभावक हुनुपर्ने, जनताको संरक्षण गर्नुपर्नेमा उल्टै नागरिकमाथि तातो गोली प्रहर गर्ने कार्यप्रति हामी घोर भर्त्सना गर्दछौ । देशमा रोजगारीको अवसर सिर्जना गर्न सकेन सकेन, नागरिक आफै विदेशी भूमिमा खुन, पसिना बगाई परिवार पाल्छु, देशमा रकम भित्र्याउँछु भन्दा पनि सामान्य घटनामा गोली चलाई ज्यान लिएको छ । प्रदर्शन गर्न बाध्य अवस्था कसले सिर्जना गर्यो ? किन गयो ? यसको जिम्मा सरकारले लिनुपर्छ ।’ पत्रमा भनिएको छ ।

घटनामा संलग्न सबैलाई कडा भन्दा कडा कारबाही होस् भन्दै नागरिक तहबाटै गैरजिम्मेवार गृहमन्त्रीको नैतिकताको आधारमा राजिनामा माग गर्दै पन्ध्र हजार माथि नागरिकको हस्ताक्षर संकलन गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत् प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएको र्याट प्रदेश संयोजक महेन्द्र श्रेष्ठले बताए ।

हस्ताक्षर हस्तानतरण कार्याक्रममा पार्टी जिल्ला सचिव भुवन खनाल, क्षेत्र नम्बर २ सचिव किशोर अर्याल, हेटौंडा नगर सभापति ध्रुर्वबहादुर बिष्ट, नगर संगठन विभाग प्रमुख बिशालराज महत, र्याट सदस्य राजकुमार घिमिरे, दिपक अधिकारी लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सोहि घटनालाई लिएर रास्वपा मकवानपुरले शनिबार हेटौंडाको मुुख्य बजार क्षेत्रमा विरोध प्रर्दशन समेत गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*