मकवानपुर साकोसको नाफा ८ लाख ५४ हजार
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित मकवानपुर बचत तथा ऋण सहकारीले ८ लाख ५४ हजार नाफा आर्जन गरेको छ ।
सहकारीले गत आवमा ८ लाख ५४ हजार तीन सय ३६ रुपैँया नाफा आर्जन गर्न सफल भएको हो । शनिबार भएको साकोसको २४ औं साधारण सभाको अवसरमा सो बारेमा जानकारी गराएको हो । संस्थाको नाफा आव ०७८/७९ को तुलनामा कम रहेको सहकारीले जनाएको छ । सहकारीले आव ०७८/७९ मा ५१ लाख १२ हजार नाफा आर्जन गर्न सफल भएको थियो ।
सहकारीले गत आव सम्ममा ९ सय ७५ जना पुरुष र एक हजार चार सय ९६ महिला गरि जम्मा दुई हजार चारसय ७१ शेयर सदस्यहरुबाट दुई करोड २५ लाख ९ सय शेयर पुँजी संकलन गरेको लेखा समितिले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सहकारीले गत आवमा १७ करोड ९३ लाख निक्षेप संकल गरेको छ भने १६ करोड ५४ लख ऋण लगानी गरेको लेखा सुपरीवेक्षण समितिका संयोजक बिमल बाँस्कोटाले जानकारी दिए ।
त्यसै गरि सहकारीले साधारण सभाको अवसरमा संस्थाका जेष्ठ शेयर सदस्य, असल बचत कर्ता, असल ऋणी र एसईई परिक्षामा उत्कृष्ठ हुने शेयर सदस्यका छोराछोरीहरु मध्यबाट एक÷एक जनालाई सम्मान पत्र र नगद एक हजार पाँच सय रुपैँयासहित सम्मान गरेको सहकारीका अध्यक्ष विजय सागर श्रेष्ठले जानकारी दिए ।
सहकारीका अध्यक्ष विजय सागर श्रेष्ठको सभाध्यक्षतामा भएको साधारण सभामा बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाको प्रमुख आतिथ्यता रहको थियो भने हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देल, मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल लगायतको आतिथ्यता रहेको थियो ।