प्राथमिकताका आधारमा कार्यान्वयन हुने योजना छनौट गरौं : मन्त्री श्रेष्ठ

अखबार हब
२०८० चैत्र २७, मंगलवार २०:४३

मकवानपुर । बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाईमन्त्री एका लाल श्रेष्ठले जिल्लाबाट योजनाहरु छनौट गर्दा प्राथमिकताको आधारमा छनौट गर्न मातहतका डिभिजन कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ ।

मंगलबार मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को हालसम्म भएका कामहरुको समिक्षा कार्यक्रममा सम्बोधन गर्नुहुदै मन्त्री श्रेष्ठले विगतमा योजना छनौट गलत ढंगले हुँदा अहिले योजना कार्यान्वयनको चरणमा समस्या भोग्नुपरेको भन्दै आगामी वर्षको योजना मातहतका कार्यालयबाट सिफारिस भएका योजनाहरु समावेस हुने प्रतिवद्दता जनाउदै प्राथमिकताका आधारमा योजना सिफारिस गर्न निर्देशन दिनुभयो ।

यसैगरी प्रदेश सरकारबाट स्वीकृत भएका बहुवर्षीय योजनामा र कार्यान्वयन भईरहेका कमागत योजनामा प्रयाप्त बजेट विनियोजन नभएको कारण कार्यान्वयनमा समस्या भएको र कार्यान्वयन भएका योजनाको भुक्तानी गर्न नसकी थप दायित्व सिर्जना भएको अवस्था रहेको उहाँले बताउनुभयो । यो समस्या समाधानको लागि मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीसँग छलफल गरी निकासको वातावरण बनाउन सक्रिय पहल गर्ने उहाँले बताउनुभयो ।

योजना निर्माणको लागि प्रदेश सरकारबाट २६ वटा स्थानिय तहमा ५ करोड २५ लाख बजेट विनियोजन भएतापनि निर्माणको कार्याविधिको अभावमा कार्यान्वयनमा समस्या भएको भनी गुनासो प्राप्त भएकोले सोको कार्यविधि निर्माण गरी स्वीकृतीको लागि अघि बढाईने बताउनुभयो ।

कर्मचारीहरुको वृत्तीविकासमा सहयोगको लागि यस मन्त्रालय र अन्तर्गतका निकायहरुको संगठन संरचना तथा दरवन्दी तेरिज हेरफेरको लागि पहल गरिने बताउँदै उहाँले भन्नुभयो–‘योजना कार्यान्वयनमा देखिएका समस्या समाधान हेतु एवं प्रभावकारी कार्यान्वयनको लागि डिभिजन प्रमुखलाई समेत आमन्त्रित गरी आवश्यकता अनुसार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक बसिनेछ । यस मन्त्रालय र अन्तर्गतका कार्यालयहरुको स्वीकृत संगठन संरचना तथ दरबन्दी तेरिज बमोजिम पदपूर्ती हुन बाँकी पदमा प्रदेश लोकसेवा आयोगबाट पदपूर्तिको प्रक्रियामा रहेको छ।’

सरकारको अभियान सबैको घरघरमा शुद्ध खानेपानी र सबै किसानहरुको खेतमा सिंचाइ सुविधाको व्यवस्थापन गर्ने कार्यक्रमलाई सार्थक टुङ्गोमा पुन्याउन आगामी आर्थिक वर्षलाई खानेपानी तथा सरसफाई एवं सुलभ सिंचाइ वर्षको रुपमा विशेष अभियान चलाउने सम्बन्धी पहिलो निर्णय भएको हुँदा सोलाई कार्यान्वयन गर्न कार्यालयलाई प्राप्त बजेटको सिलिङ बमोजिम प्राथमिकताको आधारमा योजना छनौट गरी मन्त्रालयमा सिफारिस गर्नुहुन मन्त्री श्रेष्ठले कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

हेर्दा देखिने, छाम्दा भेटिने, बोल्दा सुनिने जस्तो भई जनतालाई तोकिएका सेवा प्रवाह गर्नुहुन उहाँले निर्देशन दिनुभयो । कार्य विवरणमा उल्लेखित कार्यहरु प्रचलित ऐन, नियमको परिधिभित्र रही इमान्दारिता र जिम्मेवारीपुर्वक सम्पादन गर्नुहुन समेत आग्रह गर्नुभयो । सबै कर्मचारीहरुले कार्य सम्पादन गर्दा जनता एवं सेवाग्राहीबाट नकारात्मक गुनासो नआउने गरी सम्पादन गर्नुहुन आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिब इन्द्रदेव भट्ट लगायतकाले समापन कार्यक्रमका अवसरमा १३ वटै जिल्लाका कर्मचारीहरुलाई छिटो छरितो रुपमा कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

मन्त्रालय मातहतका ५ वटा खानेपानी डिभिजन कार्यालय र १६ वटा सिंचाई कार्यालय गरि कुल २१ वटा कार्यालयहरुले आआफ्नो जिल्ला कार्यालयको प्रगति विवरण र कार्यगत समस्या प्रस्तुत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*