कमल थापालाई एमालेको उम्मेदवार बनाउनु गलत : शंकर पोखरेल

अखबार हब
२०८१ जेष्ठ १८, शुक्रबार २१:१२

मकवानपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गत निर्वाचनमा मकवानपुरमा पार्टीबाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउनु गलत सावित भएको बताएका छन् ।

शुक्रबार एमाले मकवानपुरको १२औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले थापालाई उम्मेदवार बनाउनु गलत भएको बताएका हुन् । ‘राष्ट्रिय राजनीतिलाई एकप्रकारले सही बाटोमा अगाडि बढाउनका लागि पार्टी नेतृत्वले अलि फरक ढंगले सोच्नुपर्ने स्थिति पनि हुँदो रहेछ ।’ महासचिव पोखरेलले भने, ‘यद्यपि हामीले जुन विश्वासका साथ भरोसाका साथ कमल थापाजीलाई मकवानपुरको उम्मेदवार बनायौँ, त्यो गलत सावित भयो ।’

महासचिव पोखरेलले थापाले आफ्नो गृह जिल्लामा दाबी गरे जस्तो निर्वाचनमा उपलब्धी दिन नसकेको र थापाले गणतन्त्र धारमा आउनका लागि एमालेको साथ खोजेको स्मरण गरे ।

पोखरेलले मुलुकमा राजवादीहरुलाई गणतन्त्र धारमा ल्याउन थापा एक माध्यम हुनसक्ने दृष्टिकोणले पार्टीले उनलाई उम्मेदवार बनाएको तर थापाको त्यो प्रतिवद्धता बनावटी रहेको र पुरानै कित्तामा रूपान्तरित भएको उल्लेख गरे । उनले थापा फेरि राजावादीमा गएको भन्दै पार्टीले थापालाई टिकट दिनु गलत सावित भएको दोराए ।

‘कमल थापाजी राजावादी धारलाई गणतन्त्रको धारमा ल्याउनको लागि भूमिका खेल्दछु भन्ने उम्मेदवारले हार्ने ? ’ महासचिव पोखरेलले थापालाई प्रश्न भने । पोखेरलले थापा अहिले फेरि राजावादीमा गएको टिप्पणी गर्दै उनी इमान्दार नरहेको अहिले प्रष्ट भएको प्रष्ट पारे ।

यसैगरी, महासचिव पोखरेलले देशलाई विकास र समृद्धिको बाटोमा अघि बढाउने पार्टी एमाले मात्रै भएको बताए। उनले  पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको समयमा देशको आर्थिक विकासको दर तीव्र गतिमा बढेको स्मरण गरे । अध्यक्ष ओली प्रधानमन्त्री भएको बेला तीनवर्ष लगातार मुलुकको कुल गार्हस्थ्य उत्पादन जीडिपी बढेको महासचिव पोखरेलले उल्लेख गरे ।

यसैगरी, अधिवेशनलाई सम्बोधन गर्नुहुँदै एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज गुरु बरालले जिल्लाको सबै वडाको टोल बस्तीमा पार्टी विस्तार गरेर जनताको मन जित्नेगरी पार्टीका गतिविधि बढाउन आग्रह गरे । उनले युवा नेतृत्व विकासको काम गर्न आग्रह गर्दै युवाहरुलाई संगठित गरी जिम्मेवारी दिन निर्देशन दिए ।

उनले विषयगत क्षेत्रलाई ध्यान दिँदै कृषिजन्य उत्पादनमूलक काम गर्दै आर्थिक सबलीकरण गर्नतर्फ ध्यान दिनुपर्नेसमेत बताए । उहाले जिल्लाको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नपनि आग्रह गरे।

अधिवेशनले नयाँ जिल्ला कमिटी समेत निर्माण गर्ने छ । करिब तीन दिन सम्ममा एमाले मकवानपुरले अधिवेशन सक्ने लक्ष राखेको छ । भोली बन्दसत्र र चुनाबका लागि उम्मेदवारी दर्ता लगायतका प्रक्रियाहरु हुने छ ।

अधिवेनका लागि बिभीन्न समितिहरु गठन गरिएको छ । कुल ७६९ जना अधिवेशन प्रतिनिधिले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु चयन गर्ने एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठले जानकारी दिए

एमाले अधिवेशनमा जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित व्यक्तित्व, पार्टीको जनवर्गीय संगठनहरुबाट सहभागीता रहने एमाले मकवानपुरले जनाएको छ ।

अधिवेशनमा मकवानपुर जिल्लाका ११ हजार ६ सय ८४ जना पार्टी सदस्यहरुबाट अधिवेशनको लागि प्रतिनिधि चयन गरिएको हो । अधिवेशनबाट मजदुर, पेशागत जनसंगठन, जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहाकार परिषद समेतबाट छानिएर ७ सय ६९ प्रतिनिधीहरुले सहभागीता जनाउने र अधिवेशनको बन्द सत्रवाट भाबी नेतृत्व समेत चयन गरिने भएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*