बागमतीमा राप्रपाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विश्वासको मत नदिने स्पष्ट पारेको छ।
बिहीबार काठमाडौंको धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यलयमा बसेको राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको हो।
राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनले ६ साउनमा प्रदेश सभा बैठक डाकेको उल्लेख गर्दै राप्रपाको संसदीय दलको बैठकले उनलाई विश्वासको मत नदिने निर्णय गरेको बताए।
‘राप्रपा संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेको छ। हामी एमाले र कांग्रेसको नयाँ सरकारमा पनि सहभागी हुँदैनौँ र अहिलेका मुख्यमन्त्रीलाई पनि विश्वासको मत दिँदैनौँ,’ उनले भने।
२५ पुस ०७९ मा मुख्यमन्त्री नियुक्त हुँदा जम्कट्टेललाई राप्रपाले समर्थन गरेको थियो भने सरकारमा समेत सहभागी भएको थियो। तर, तत्कालीन गठबन्धन टुटेपछि १३ फागुनमा सरकारबाट बाहिरिएको राप्रपाले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मत दिएको थियो भने १९ चैत ०८० मा तेस्रोपटक विश्वासको मत लिँदा तटस्थ बसेको थियो।
राप्रपाका उपनेता तामाङले कांग्रेस र एमालेको गठबन्धनबाट बन्ने सरकारलाई भने समर्थन गर्ने निर्णय भएको पनि बताए। उनले नयाँ गठबन्धनबाट बन्ने सरकारलाई समर्थन गरे पनि सरकारमै भने सहभागी नहुने दाबी गरे।
केन्द्रमा एमालेले कांग्रेससँग नयाँ सत्तागठबन्धनको निर्णय गरेसँगै बागमती प्रदेश सरकारमा सहभागी एमालेले समर्थन फिर्ता लिएको थियो। त्यसैले, अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले ६ साउनमा प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन्।