चार महिनादेखि अध्यक्षविहिन वागमती प्रदेश लोक सेवा आयोग

अखबार हब
२०८१ श्रावण १४, सोमबार २०:५७

हेटौंडा । वागमती प्रदेश लोकसेवा आयोग चार महिनादेखि अध्यक्षविहीन बनेको छ । तल्कालीन अध्यक्ष सुरेशमान श्रेष्ठले गत चैत ३ गते उमेर हदका कारण अवकाश लिएसँगै आयोगको अध्यक्ष पद रिक्त बनेको हो ।

प्रदेशका मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्षी दलको समितिबाट सिफारिस भएर नयाँ अध्यक्ष नियुक्त हुने प्रावधान भए पनि हालसम्म नियुक्त हुन सकेको छैन । वागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सभामुख भुवनकुमार पाठक र प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसबीच सहमति हुन नसकेपछि हालसम्म आयोगको अध्यक्ष नियुक्त हुन नसकेको हो ।

वागमती प्रदेश मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव गोविन्दबहादुर कार्कीका अनुसार मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्षी दलले समयमा नै सहमति जुटाएर नयाँ अध्यक्ष सिफारिस गर्न नसक्दा हाल प्रदेश लोकसेवा आयोग अध्यक्षविहीन बनेको छ ।

मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशसभाका सभामुख र प्रदेशसभाको विपक्षी दलको नेता सदस्य रहेको सिफारिस समितिले अध्यक्ष र सदस्यमा नियुक्तिका लागि सिफारिस गर्ने ऐनमा व्यवस्था छ । ऐनको दफा ३ मा व्यवस्था गरिएबमोजिम सिफारिस समितिले आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि निर्णय गरी सरकारलाई जानकारी गराउनेछ । सरकारले प्रदेश प्रमुखसमक्ष नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ ।

वागमती प्रदेश लोकसेवा आयोगका सूचना अधिकारी राजु अर्यालले आयोग अध्यक्षविहीन हुँदा केही सेवा प्रवाहमा असहज भइरहेको छ । कुनै निर्णय गर्न अध्यक्ष नै चाहिने अवस्था हुने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*