मकवानपुरका सात जना एमाले नेतालाई नयाँ जिम्मेवारी
हेटौंडा । नेकपा एमालेको काठमाडौंमा बिहीवार बसेको सचिवालय बैठकले मकवानपुरका सात जना नेतालाई पार्टीको थप महत्वपूर्ण नयाँ जिम्मेवारी तोकेको छ ।
नयाँ जिम्मेवारी पाउने नेतामा केदार न्यौपाने, रामेश्वर राना, कृष्णप्रसाद दाहाल, सुवासचन्द्र ठकुरी, महेशकुमार बर्तौला, भारती पाठक र जुनेलीमाया श्रेष्ठ रहेका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले कृषि तथा पशुपन्छी विभाग प्रमुखमा केन्द्रीय सदस्यसमेत रहेका केदार न्यौपाने र केन्द्रीय सदस्य भारती पाठकलाई वन तथा वातावरण विभाग प्रमुखको जिम्मेवारी दिएको हो । पाठक बागमती प्रदेश सभा सदस्यसमेत हुन् ।
यसैगरी, पार्टीको सल्लाहकार परिषद् सदस्यमा पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल र संविधानसभा सदस्य सुवासचन्द्र ठकुरी मनोनित भएका छन् । दाहाल मकवानपुरबाट चार पटक संसदीय निर्वाचनका विजेता र प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा अर्थ विकास समितिका सभापतिसमेत थिए ।
रामेश्वर रानालाई पार्टी जिल्ला इञ्चार्जको जिम्मेवारी दिइएको छ । सचिवालय बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर २ को इञ्चार्जमा केन्द्रीय सदस्य जुनेलीमाया श्रेष्ठलाई तोकेको छ । श्रेष्ठ यसअघि प्रदेशसभा सदस्य थिइन् ।
पार्टीले जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद महेशकुमार बर्तौलालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । बर्तौलालाई प्रतिनिधिसभा क्षेत्र नम्बर–१ को जिम्मेवारी पनि दिइएको छ । सचिवालय सदस्य बैठकले १७ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा बर्तौलालाई पनि केन्द्रीय सदस्य बनाएको हो ।