वर्तमान गठबन्धन स्थायीत्वको लागि हो: पुर्वमन्त्री थपलिया
हेटौंडा । बागमती प्रदेशका पुर्व मन्त्री एवम् नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले स्थायीत्वको लागि बर्तमान गठबन्धन बनेको बताउनुभएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसद्वारा आयोजित फोटोग्राफी तालिम र कार्यशालाको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै थपलियाले स्थायी सरकार बनाएर जनताको विश्वास जितेर काम गर्ने बताउनुभयो ।
बर्तमान सरकारले स्वदेशमा रोजगार पाउने वातावरणको सुरुवात गर्दै लैजाने समेत उहाँले बताउनुभयो ।
बागमती प्रदेश सरकारले स्वरोजगार बन्न अभिप्रेरित गर्नेगरी बजेट छुट्टाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो” जनताले सरकार छ भन्ने महसुस गराउने गरी हामी काम गर्छौं ।”
उहाँले बिदेश जाने क्रम बढीरहेकोले यसको न्यूनीकरण गर्नेतर्फ सरकार उन्मुख रहेको जानकारी दिनुभयो ।
स्वतन्त्र विद्यार्थी युनियनहरुले धेरै काम गरेको भन्दै फोटोग्राफीको तालिम गरेकोमा खुशी व्यक्त गर्नु भयो । चर्चित विधा भएका कारण संसारमा परिचय बनाउन फोटोग्राफीले धेरै मद्दत गर्ने उहाँको भनाइ थियो। फोटोग्राफी तालिमलाई सार्थक बानाउनेगरी उपयोग गर्न उहाँले सुझाव दिनुभयो ।
स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसका अध्यक्ष अभि मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा क्याम्पसका प्रमुख देविराम लामा, गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेशका अध्यक्ष आरति पाठक, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री सुमित्रा काफ्ले, पत्रकार सुरेश श्रेष्ठ, जिल्ला युवा समितिका अध्यक्ष शिबहरि दाहाल, विद्यार्थी नेता आकाश अधिकारीलगायतले बोलेका थिए । ७ दिनसम्म भएको तालिममा ७५ जना सहभागी थिए ।