गौरीटार रंगशालाको काम समयमै सक्न खेलकुदमन्त्री महर्जनको निर्देशन
हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले हेटौँडा उपमहानगपालिका–६ स्थित गौरीटार रंगशाला निरीक्षण गर्दै तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिएका छन्।
खेलकुद क्षेत्रमा निर्माण कार्य अत्यन्त सुस्त हुने गरेको भन्दै उनले यसको प्रभाव समग्र खेलकुद क्षेत्रमा पर्ने गरेको बताए। गौरीटार रंगशाला निर्माणको उद्देश्यअनुरूप काम हुन नसकेमा उनले चिन्ता व्यक्त गरे।
१४ वर्षअघि शिलान्यास गरिएको रंगशालाभित्रका खेलकुद संरचना निर्माणको कामले हालसालैबाट मात्रै गति लिन थालेको भन्दै मन्त्री महर्जनले अब काम नरोकिने दाबी गरे। उनले निर्माणाधीन त्रिकेट तथा फुटबल मैदान र पौडी पोखरीको निरिक्षण गरेका थिए। निरीक्षणका क्रममा मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछाने र प्रदेश खेलकुद विकास परिषद्का इन्जिनियर निवेश बर्तौलाले निर्माणाधीन भौतिक संरचनाका बारेमा जानकारी गराएका थिए।
८० करोड लागत अनुमान गरिएको क्रिकेट रंगशाला निर्माणका लागि पहिलो चरणमा ९ करोड ४२ लाख ८२ हजार ७०९ रुपैयाँ बजेट विनियोजन भएर काम भइरहेको छ। जसअन्तर्गत क्रिकेट रंगशालामा पहिलो चरणमा ६०० दर्शक क्षमताको एउटा प्यारापिटसहित ५ वटा पिच, ७० मिटर रेडिएसको ग्राउन्ड, भिभिआइपी कक्ष, खेलाडी कक्ष ९प्लेयर बक्स०, चेन्जिङ रुम, टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपांगमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुनेछ।
यस्तै, प्रशिक्षण र खेलका लागि दुईवटा स्विमिङ पुल निर्माण भइरहेको र पहिलो चरणमा स्विमिङ पुल निर्माणका लागि ६ करोड १ लाख ७५ हजार ४२३ रुपैयाँ बजेटबराबरको काम भइरहेको छ। इन्जिनियर बर्तौलाका अनुसार प्रतियोगिताको लागि बन्ने स्विमिङ पुल ५० मिटर लम्बाइ, २५ मिटर चौडाइ र २ मिटर गहिराइको तथा प्रशिक्षणका लागि २५ मिटर लम्बाइ, १० मिटर चौडाइ र १।३८ मिटर गहिराइको हुनेछ। दुवै संरचनाको गत वैशाखमा प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिलान्यास गरेका थिए।
यस्तै, ९० करोड रुपैयाँ लागत अनुमान गरिएको फुटबल रंगशालाको अहिले मैदान र भिआइपी प्यारापिटको काम सम्पन्न भइसकेको छ भने अन्य भौतिक संरचनाको काम चलिरहेको इन्जिनियर बर्तौलाले जानकारी दिए। प्रदेश सरकारले बहुवर्षीय योजनाअनुसार लगानी गरेको फुटबल स्टेडियमको दुईचरणको काम सम्पन्न भएको छ।
केन्द्रीय खेलकुद प्रतिष्ठानका रूपमा विकास गर्ने गरी तत्कानीन समयमा राष्ट्रिय खेलकुद परिषद्ले खेलकुदका संचना निर्माणको थालनी गरेको थियो। बजेटले निरन्तरता पाउन नसक्दा १४ वर्षसम्म निर्माणले गति लिन नसकेको रंगशालाको २८ जेठ ०६४ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेका थिए।
पछिल्लो समय प्रदेश सरकारअन्तर्गत रहेको आयोजना सम्पन्न गर्न प्रदेश सरकारले क्रमागत रूपमा बजेट विनियोजन गर्दै आएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने उद्देश्यसहित निर्माण गर्न लागिएको रंगशालामा फुटबल, भलिबल, क्रिकेटका लागि खेल मैदान, स्विमिङ पुल, छात्र र छात्रा होस्टल, प्रशासनिक भवनलगायतका संरचना निर्माणका लागि ९० करोड रुपैयाँको लागत अनुमानसहित डिपिआर तयार पारेर काम भइरहेको छ।