प्रदेशको औचित्य पुष्टि गर्नेगरी काम गर्न एमालेका मन्त्रीहरुलाई ईन्चार्ज भट्टराईको निर्देशन
हेटौंडा। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले प्रदेशको औचित्य पुष्टि गर्नेगरी काम गर्न निर्देशन दिएका छन् ।
मंगलवार बागमती प्रदेश नेकपा एमाले संसदीय दलको कार्यालयमा एमालेबाट नियुक्त भएका मन्त्रीहरुलाई सम्बोधन गर्दै इन्चार्ज भट्टराईले यस्तो निर्देशन दिएका हुन् ।
इन्चार्ज डा.भट्टराईले पछिल्लो समय प्रदेशप्रति देखिएको बितृष्णालाई हटाउन नियुक्त भएका मन्त्रीहरुले राम्रो काम देखाएर जनतालाई आशा जगाउनुपर्ने बताए । एमालेबाट नियुक्त भएका मन्त्रीहरुलाई यतिबेला आफ्नो योग्यता , क्षमता र इमान्दारीता देखाउने भएको बताए । पार्टीले विश्वास गरेर पठाएका मन्त्रीहरुलाई जनतासँग जोडिनका साथै ख्याल गरेर काम गर्न समेत निर्देशन दिए ।
त्यसैगरी, नेकपा (एमाले) बागमती प्रदेश अध्यक्ष तथा पूर्व मन्त्री कैलाश ढुंगेलले पनि सुनौलो बागमती निर्माण गर्नका एमालेबाट नियुक्त भएका मन्त्रीहरुलाई अवसर भएको बताएका छन् । यो सरकार लामो समयसम्म जाने बताउँदै ढुंगेलले चुस्त दुरुस्त भएका अगाडि बढ्न आग्रह गरे ।
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीहरुलाई परिणाम आउने गरी काम गर्न निर्देशन दिएका छन् । कार्यक्रममा कृषि तथा पशु पन्छी बिकाश मन्त्री प्रकाश श्रेष्ठले बर्तमान अवस्थामा भईरहेको गतिविधिका बारेमा बिफ्रिङ् गरेका थिए ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पार्वत गुरुङ , केन्द्रिय सल्लाहकार सदस्य तथा पूर्व मुख्यमन्त्री डोरमणी पौडेल , केन्द्रिय सदस्य बाबुराम थापा , बागमती प्रदेश उपाध्यक्ष दावादोर्जे लामा लगायत मन्त्री तथा सांसदहरुको उपस्थिती रहेको थियो ।