स्थानीय तहमा उपनिर्वाचन गराउन आयोगको गृहकार्य
काठमाडौँ । स्थानीय तहमा रिक्त रहेका पदहरूमा उपनिर्वाचन गराउन निर्वाचन आयोगले गृहकार्य थालेको छ । आयोगले उपनिर्वाचनलाई लक्ष्य गरेर उमेर पुगेका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउन मंगलबार सार्वजनिक आह्वान गरेको छ ।
विभिन्न स्थानीय तहमा ३४ पद रिक्त छन् । काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेख महाबु गाउँपालिकामा अध्यक्ष पद रिक्त छ । जाजरकोटको नलगाढ नगरपालिकामा उपप्रमुख तथा दोलखाको गौरीशंकर गाउँपालिका र बाजुरा स्वमीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पद रिक्त छ ।
यस्तै २८ वडाध्यक्ष उपनिर्वाचनबाट चयन गर्नुपर्नेछ । रिक्त ती सबै पदका लागि उपनिर्वाचन गराउनुपर्ने विषयमा आयोगका पदाधिकारीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराएका थिए । आयोगका एक पदाधिकारीका अनुसार आगामी मसिंरमा उपनिर्वाचन गराउने गरी प्रधानमन्त्रीसँग छलफल भएको छ ।
दुई वर्ष अगाडि २०७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचन भएको थियो । विभिन्न कारणले रिक्त हुन पुगेका पदको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन ऐन २०७३ मा छ ।
निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम लेखाउन मिल्दैन । त्यसैले आयोगले त्यसपूर्व नै नामावली दर्ताका लागि आग्रह गरेको हो । आयोगका अनुसार जिल्ला निर्वाचन कार्यालयमा अनलाइन फारम भरी नियमित तरिकाबाटै नाम दर्ता गराउन सकिनेछ ।