रास्वापा पनि कर वृद्धिको विरोधमा
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले गरेको कर वृद्धिको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि विरोध जनाएको छ ।
हालै सम्पन्न नगर परिषद्को सभाले विभिन्न क्षेत्रमा १०० देखि १५० प्रतिशतसम्म कर वृद्धि गरेकोप्रति रास्वपाले विरोध गरेको हो । रास्वपाले यस निर्णयको घोर भर्त्सना र निन्दा गरेको छ । पालिकाले गरेको कर वृद्धिको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले चरणवद्ध आन्दोलन गरिरहेको बेला रास्वपा नगर समितिले पनि बिहिबार एक विज्ञप्ति जारि गरेर विरोध जनाएको हो।
पार्टीले वर्तमान आर्थिक मन्दीको अवस्थामा कर वृद्धि गर्नु अनुचित भएको बताएको छ। विज्ञप्तिमा भनिएको छ, ‘अहिले देश नै आर्थिक मन्दीको मारमा परेर व्यवसायहरू धरासायी हुँदै, घर भाडा र राज्यको न्यूनतम नवीकरण पनि तिर्न नसक्ने स्थिति भई दिनानुदिन व्यवसायहरू बन्द हुँदै र विदेशिने क्रम जारी रहेको परिस्थितिमा कर वृद्धि गर्नु उचित होइन।’
रास्वपाले यस निर्णयमा सबै दलका जनप्रतिनिधिहरूको मिलेमतो रहेको आरोपसमेत लगाएको छ। पार्टीले उपमेयरको व्यवसायमा कर नबढाइएको भन्ने जनगुनासो रहेको पनि उल्लेख गरेको छ।
रास्वपाले हेटौंडा उपमहानगरपालिकाले बढाएको सम्पूर्ण कर खारेज गरी पुरानै दररेट कायम गर्न जोडदार माग गरेको छ।
बुधबार मात्रै नेकपा (एमाले)बाट निर्वाचित बहुमत नगरसभा सदस्यहरुले विबाद बढ्दै गएपछि बिशेष नगरसभाको माग गरेका छन् । ९४ सदस्य नगरसभा रहेको पालिकामा ४८ जना सदस्यले बिशेष नगरसभाको माग गरेको हो ।