बागमतीमा हेरेर अरु प्रदेशले संघीयता सञ्चालन गर्न सिक्ने : मन्त्री काफ्ले
हेटौंडा । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले अरु प्रदेशहरुले संघीयता कसरी सञ्चालन गर्न सकिन्छ भनेर बागमती प्रदेशलाई हेरेर सिक्ने अवस्था बनाउने उद्घोष गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्यार्थी संघ पशुपति बहुमुखी क्याम्पस इकाई समितिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले यसो भनेका हुन् ।
प्रदेशको हकमा संविधानभित्र रहेको मौलिक हक र अधिकार प्राप्तिको विषयमा केही कानूनी अड्चन भएतापनि बागमती प्रदेशले शिक्षा, स्वास्थ, रोजगार, खाद्य र समाज विकासको विषयमा दृष्टिकोण बनाएको मन्त्री काफ्ले बाताउँछन् ।
‘विगतका दिनहरुमा समाज परिवर्तनको निम्ति आन्दोलनहरुमा यस पशुपती बहुमुखी क्याम्पसबाट विद्यार्थीहरुको अहम भूमिका रहेको थियो ।’ – उनले भने, ‘म आफूपनि विद्यार्थी राजनितीबाट आज यहाँसम्म पुगेको छु, म आज जुन स्थानमा भएतापनि मेरो धरातल भनेको नेपाल विद्यार्थी संघ र हजुर विद्यार्थीहरुको हो ।’
नेपाल विद्यार्थी संघ पशुपति बहुमुखी क्याम्पसका इकाई अध्यक्ष सरोज लिम्बुको सभाध्यक्षतामा भएको सम्मान कार्यक्रममा क्याम्पस प्रमुख बिनोद पन्त, नेविसंघका पूर्व नेता र क्याम्पसका विद्यार्थीहरुलगायतको उपस्तिथि रहेको थियो ।