१७ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिँदै

अखबार हब
२०८१ श्रावण ३२, शुक्रबार २१:४७

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको १७ नम्बरलाई  बालमैत्री वडा घोषणा गरिने भएको छ । यही भदौ ७ गते वडालाई बालमैत्री वडा घोषणा गरिने भएको हो ।

वडा कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको तयारीलाई तीव्र पारिएको जानकारी दिएको हो ।

हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्ने तयारीको क्रममा धमाधम वडाहरु बालमैत्री घोषणा भैरहेको छ । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका लागि आवश्यक ५१ वटा सूचकमध्ये ४८ वटा सूचक सतप्रतिशत, एकवटा सूचक ९८ प्रतिशत, एकवटा ८१ प्रतिशत र अर्को एकवटा सूचकको ८० प्रतिशत नतिजा हाँसिल गरेको अवस्थामा बालमैत्री वडा घोषणा गर्न लागेको १७ नम्बर वडा अध्यक्ष उद्धव सत्यालले जानकारी दिए ।

‘१५ दशमलव ०२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडामा घरधुरी तथ्यांक संकलन सर्वेक्षण अनुसार २ हजार ११० जना १८ वर्षमुनीका बालबालिका रहेका छन्’, वडा अध्यक्ष सत्यालले भने, ‘यस वडामा संस्थागत र सामुदायिक गरी ६ वटा विद्यालय रहेको छ । विद्यालय जाने उमेर समूहका सबै बालबालिकाहरु पढाईमा रहेका छन् ।’ १७ नम्बर वडामा २२ वटा बाल समूह र एउटा बाल सञ्जाल रहेको वडा सदस्य कृष्णबहादुर अधिकारीले बताए ।

उनका अनुसार बाल समूह र सञ्जालमा ५५० जना बालबालिका आबद्ध छन् । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका लागि वडा कार्यालयसहित बाल अधिकार समिति, बाल समूह, टोल विकास संस्था, आमा समूह, युवा क्लवसहित विभिन्न संघसंस्थाका क्रियाशिल रहेको वडा सदस्य नवराज न्यौपानेले जानकारी दिए ।

बृहत कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले १७ नम्बरलाई बालमैत्री वडा घोषणा गर्ने कार्यक्रम रहेको छ ।  यसअघि हेटौंडा उपमहानगरपालिकाको २ र ८ नम्बर वडा बालमैत्री घोषणा भैसकेको छ । 

यसमा तपाइको मत

Your email address will not be published.


*