पालुङ जेसीजको  ब्याडमिन्टन प्रतियोगितामा १३ टिमले सहभागीता जनाउने 

अखबार हब
२०८१ भाद्र ६, बिहीबार २१:२२

मकवानपुर । थाहा नगर स्तरीय जेसीज कप खुल्ला मेन्स डबल ब्याडमिन्टन प्रतियोगितामा थाहा नगरका १३ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

पालुङ जेसीजको आयोजना तथा थाहा नगरपालिका वडा नं. ३ को सहयोगमा थाहा नगर स्तरीय जेसीज कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता आगामी भाद्र १३ गतेदेखि १५ गतेसम्म थाहा ४ क्याम्पाडाँडामा रहेको ब्याडमिन्टन कभर्डहलमा हुने पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले जानकारी दिए ।

प्रतियोगिताको बिजेता र उपबिजेता टिमले क्रमशः नगद १० हजार, ७ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने बिधागत उत्कृष्ठ खेलाडीले नगद २ हजार ५ सय, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको बिजेता टिमले प्राप्त गर्ने नगद पुरस्कार पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष रायमाझीले आफ्नो स्वर्गीय हजुरबुबा रणबहादुर रायमाझीको स्मृतिमा प्रायोजन गर्ने कार्यक्रम संयोजक सुशान्त श्रेष्ठ (च्याङ)ले जानकारी दिए ।

खेलको माध्यमबाट समाजमा रहेका युवालाई एकताबद्ध गरी समाजको समृद्धि र बिकासमा सक्रिय बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष रायमाझीले बताए ।

फरक सोच र थाहा नगर ब्याडमिन्टन संघ र शिखर क्लवको समन्वयमा हुने प्रतियोगितामा सुशान्त श्रेष्ठ (च्याङ) र अनिल बिष्ट, कपिल खत्री र भुवन रायमाझी, नारायण बिष्ट र हरि बिष्ट, देब अर्याल र नरेन्द्र मोक्तान, ईशाक केसी र नरेन्द्र लामा, सुनिल बिष्ट र सन्तोष के.सी.को टिम दर्ता भएको छ ।

त्यस्तै सुवास थापा र समराज पाख्रिन, साङ्गे लामा र कुमार रायमाझी, संग्राम खत्री र मधुसुदन चौधरी, रामचन्द्र कार्की र बिमल बिष्ट, रोशन गोपाली र घनश्याम श्रेष्ठ, नबिन रायमाझी र मनिष तामाङ, कविन्द्र ओड र प्रकाश चौधरीको गरी १३ टिमले नाम दर्ता गराएको आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तरगत १३ र १४ गते लिग चरणको खेल हुनेछ भने १५ गते शनिवार बिहान ७ बजेदेखि क्वाटरफाईनल खेल, दिउँसो ३ बजेदेखि सेमिफाइनल खेल र साँझ ५ बजे फाईनल खेल हुने ब्याडमिन्टन प्रतियोगितामा कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए ।

‘सफलता जीवनको अर्थ हो’ भन्ने मूल प्रकरणका साथ पालुङ जेसीजले बर्ष २०२४ मा विविध रचनात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*