फरक क्षेत्रमा काम गरेका महिलालाई सम्मान गर्नु सकारात्मकः मन्त्री काफ्ले

अखबार हब
२०८१ भाद्र १९, बुधबार २०:५४

हेटौंडा । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले रेडियो मकवानपुरले फरक क्षेत्रमा चुपचाप काम गरिरहेका महिलालाई सम्मान गर्नु सकारात्मक काम भएको बताएका छन् ।

बुधबार रेडियोले हरितालिका तीजको अवसरमा डकर्मी र खेलकर्मी गरी दुई महिलालाई सामुदायिक सम्मान प्रदान गरेको छ ।

सामान्य कामबाट पनि महिलाहरुको जीवनलाई प्रेरित गर्ने जागरुक महिला सम्मान गर्ने रेडियोको कदमको प्रशंसा गर्दै उनले सञ्चार जगतको यस्ता काममा प्रदेश सरकारको साथ रहने प्रतिबद्धता गरेका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले महिलाहरुलाई तिजलाई तडकभडक तथा खर्चिलो तरिकाले भन्दापनि संस्कृति र परम्परा जोगाउने भावका साथ तिज मनाउन आग्रहसमेत गरे ।

पछिल्लो वर्षहरुमा चाडपर्व मनाउने क्रममा बढ्दो अनावश्यक तडकभडक सहितका खर्चिला कार्यक्रमले त्यसको मौलिकता लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै काफ्लेले मौलिक पहिचान जोगाउँदै चाडपर्व मनाउँदा भावी पुस्ताप्रति न्याय हुने बताएका छन् ।

‘सांस्कृतिक पर्वहरूले समाजमा सद्भाव, भातृत्व र मेलमिलाप बढाउँदै सबैलाई एकताको सूत्रमा बाँधेकोमा यसलाई निरन्तरता दिने दायित्व हामी सबैको हो ।, मन्त्री काफलेले भने ।

सम्मानित हुनेमा हेटौंडा – ५ की खेलकर्मी सरेशा ढुङ्गाना र हेटौंडा-१९ बस्तीपुरकी डकर्मी गौरिमाया सिन्तान रहेकी छन् । ढुङ्गाना तीन दशकदेखि तेक्वान्दो खेल र सिन्तान १२ वर्षदेखि डकर्मी पेशामा आबद्ध रहेकी छन् । ढुङ्गाना मकवानपुरबाट तेक्वान्दो खेलको पहिलो महिला मेडलिष्ट हुन् । सिन्तान भने आर्थिक अवस्था कमजोर भएपछि घर बनाउने काममा लागेर महिला मिस्त्रीका रुपमा परिचित रहेकी छन् । दुवैजनालाई रेडियोले जनही नगद १० हजारसहित सम्मानपत्र प्रदान गरेको हो ।

उनीहरुलाई प्रमुख अतिथी काफ्ले, प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ र रेडियोका अध्यक्ष आनन्दराम पराजुलीले नगद, प्रमाणपत्र र दोसल्ला प्रदान गरेका हुन् ।

विगत १४ वर्षदेखि प्रत्येक वर्ष सामाजिक क्षेत्रमा उल्लेख्य काम गर्ने महिलाहरुलाई सम्मानित गर्दै आइरहेको रेडियोले हालसम्म २८ जनालाई सम्मानित गरिसकेको रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।

कार्यक्रममा रेडियोका सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले समाजमा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वहरुको कामको सम्मान गर्दै उनीहरुको हौसला बढाउनु आम सञ्चारमाध्यमको जिम्मेवारीसमेत भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*