वन मार्फत युवालाई आयआर्जनमा जोड्नुपर्छ: सांसद पाठक

अखबार हब
२०८१ भाद्र २७, बिहीबार २०:५३

हेटौंडा । बागमती प्रदेश सभा सदस्य भारती पाठकले युवा र महिलालाई सामुदायिक वन मार्फत आयआर्जनमा जोड्नुपर्ने बताएकी छिन् ।

वन व्यवस्थापनमा समुदायको भूमिका बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै सामुदायिक वन मार्फत युवा तथा महिलालाई आयमा जोड्नु पर्ने बताएकी हुन् ।

प्राकृतिक स्रोतमा महिला अधिकार सञ्जाल (डब्लूआरआरएन) को आयोजनामा बिहीवार हेटौंडा–६ चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको हलमा कार्यक्रम भएको हो । कार्यक्रममा साँसद पाठकले वनको दिगो व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा समुदायले जानकारी दिनुपर्ने उनको भनाइ छ ।

देशभर रहेका वन उपभोक्ता समूहले नै वन जोगाएर हराभरा बनाएको बताउँदै उनले अव समुदायले व्यवस्थापनको पाटोमा पनि काम गर्नुपर्नेमा जोड दिइन् । उनले वनमा उमेर पुगेका रुख निकाल्ने, जडिबुटी रोप्ने र वन व्यवस्थापन गर्दै आयआर्जनमा जोडिनुपर्ने बताइन् ।

कार्यक्रममा डा.योगेन्द्र यादवले दिगो वन व्यवस्थापनका बिषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण कटुवाल, प्रगतिशिल युवा क्लवका अध्यक्ष नवराज तिमल्सिना, समूहका उपाध्यक्ष उमेश अधिकारी लगायतकाले वन समूहका बारेमा बोलेका थिए ।

कार्यक्रममा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह कार्यसमिति, उप समिति, प्रगतिशिल युवा क्लवका ३० जनाको सहभागिता रहेको थियो ।

तपाईको मत दिनुहोस्

  • प्रतिक्रियाहरु
  • प्रतिक्रियाहरु (0)